चक्रघट्टा, २४ पुस – सर्लाहीको चक्रघट्टा गाँउपालिकामा प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामिण विकास केन्द्र नेपाल (RDC Nepal), चन्द्रपुर–४, रौतहटको सहजीकरणमा बालबालिकाहरु खासगरी बालिकालाई लक्षित गरी बालिकाको सशक्तिकरण, शिक्षा, बाल संरक्षण र आर्थिक स्वतन्त्रताको क्षेत्रमा देखिने गरी काम गर्ने उद्देश्यले मलंगवामा जिल्ला स्तरीय परियोजना शुरुवाती चरणको कार्यशाला गोष्ठी सञ्चालन गरिएको छ ।
सो परियोजना शुरुवाती चरणको कार्यशाला गोष्ठीको अध्यक्षता प्लान इन्टरनेश्नल नेपाल, क्षेत्रिय कार्यालय पूर्वका क्षेत्रिय प्रबन्धक रवि शंकर पंडितले गरेका थिए भने प्रमुख अतिथी जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख कौशल किशोर सिँह, विशिष्ठ अतिथीहरु जिल्ला समन्वय समिति, सर्लाहीका उप–प्रमुख जितेन्द्र कुमार महतो, चक्रघट्टा गाँउपालिकाका अध्यक्ष कृष्ण कुमार यादव, चक्रघट्टा गाँउपालिकाका उपाध्यक्ष मिना देवी राय, साथै चक्रघट्टा गाँउपालिकाका वडाध्यक्षहरु, शिक्षा विकास तथा समन्वय इकाई सर्लाही, पशु सेवा कार्यालय सर्लाही, पत्रकार महासंघ सर्लाही, एकद्धार संकट व्यवस्थापन केन्द्र, प्रादेशिक अस्पताल सर्लाही, ग्रामिण विकास केन्द्र नेपाल, रौतहटका कार्यकारी निर्देशक, उपाध्यक्ष र सचिव लगायत विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका प्रतिनिधिले बालबालिका हुने कुपोषण र मधेश प्रदेशमा कुपोषित बालबालिकाको अवस्था चित्रण गरेका थिए । खानेपानी, सरसफाई तथा स्वच्छतामा जोड दिन र बालबालिकामा लगानी गर्न अनुरोध गरेका थिए ।
प्लान इन्टरनेशनल नेपालका क्षेत्रिय कार्यालय पूर्वका कार्यक्रम विशेषज्ञ काजल झाले चक्रघट्टा गाँउपालिकाका विभिन्न ४ वटा वडाहरुका विद्यालयहरुमा चर्पी, खानेपानी र हातधुने प्रणाली जडान गरिने त्रिलयाकलाप पनि गरिने जानकारी दिए ।
ग्रामिण विकास केन्द्र नेपाल, रौतहटका कार्यकारी निर्देशक आशिष कुमार सिंहले हालसम्म गरेका कामहरु र विगत २३ वर्षदेखि विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, पोषण, बाल संरक्षण, बातावरण संरक्षण, लैंगिक हिंसा विरुद्धका क्रियाकलापहरु, जलवायु परिवर्तन, महिला सशक्तिकरण, जिविकोपार्जन सम्बन्धी परियोजना र हाल रौतहट र सर्लाहीका विभिन्न स्थानीय तहहरुमा परियोजना सञ्चालनमा रहेको जानकारी दिए । उनले सबल बालिका सबल समुदाय परियोजनाको कूल बजेट दुई करोड तेह्र लाख दश हजार सात सय उनान्असी रुपैयाँ रहेको र हाल जनवरी २०२६ देखि जुन २०२६ सम्ममा खासगरी विद्यालयहरुमा खानेपानी र सरसफाईका प्रणाली सम्बन्धी निर्माण लक्षित क्रियाकलापहरु गरिने पनि बताए ।
पशु सेवा कार्यालयका अध्यक्ष उपेन्द्र कुमार सिँहले बालबालिकाहरुलाई विद्यालयमा दिवा खाजा दिने प्रावधान अन्तर्गत चना र चिउरा र चना पकाउन प्रयोग गरिने तेलको गुणस्तरमा प्रश्न उठाए । खाजा वापत दुध चिउरा वा दही चिउरा र अण्डाको प्रयोगमा जोड दिई बालबालिकाहरुको कुपोषणको अवस्थालाई कम गर्न सकिने पनि बताए ।
त्यसैगरी चक्रघट्टा गाँउपालिकाका शिक्षा शाखा प्रमुख रंजित कुमार चौधरीले यस गाँउपालिकामा हप्तै भरी नियमित तालिका बनाई कहिले चना, कहिले अण्डा त कहिले पोषिलो जाउलो प्रदान गरी बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि टेवा पुर्याउन मद्दत पुग्ने बताए ।
प्रादेशिक अस्पताल अन्तर्गत एकद्धार संकट व्यवस्थापन प्रणाली, सर्लाहीका प्रमुख जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले भु्रण हत्या र महिलाहरुलाई गरिने विभेद र गर्भमै छोरीलाई गरिने विभेदलाई अन्त्य गर्न सबै एकजुट भई लाग्नुपर्नेमा जोड दिए ।
निल हिरा समाजबाट नगमा खातुनले लिङ्ग पहिचान गरी भु्रण हत्या गरी बालिकाहरु असुरक्षित भएकोले खास गरी दहेज प्रथालाई पनि न्यूनीकरण गर्न जोड दिनुको साथै बालिकालाई सुरक्षित गर्न हामी सबै सरोकारबालाहरुको दायित्व हो भनि प्रकाश पारे । महिलाहरुलाई बच्चा जन्माउने यन्त्र नलिई यसको बिरुद्ध सम्बन्धित पालिका वा स्थानीय तहले कठोर निर्णय गर्न दवाव दिए । यसको साथ साथै उहाँले सबै लिङ्गहरुलाई समान किसिमले शौचालय प्रयोग गर्नको लागि विद्यालयमा पनि All Gender Toilet बनाइदिन आग्रह गरेका छन् ।
चक्रघट्टा गाँउपालिकाकाका अध्यक्ष कृष्ण कुमार यादवका अनुसार सर्लाही जिल्लाको चक्रघट्टा गाँउपालिकाकामै परियोजना सञ्चालन भएकोले आफूलाई धेरै गौरवान्वित महसुस भएको बताए । संघीय सरकारद्धारा बालबालिकामा लगानी अनुरुप प्रतिफल नदेखिएको खासगरी पाोषण तथा अन्य क्षेत्रमा सन्तोषजनक प्रतिफल नभए पनि आगामी दिनहरुमा चक्रघट्टा गाँउपालिकाकाले बालबालिकामा अझ बढी लगानी गर्ने प्रतिबद्धता गरेका छन् ।
पोषण, बाल संरक्षण आदि विषयमा धेरै गैर सरकारी संस्थाहरुले काम गर्ने भए पनि यस परियोजनाको दिगोपनाको लागि बढी सरोकारबालाहरु सँग समन्वय गर्नुपर्ने र समयमै हामी साोच्नुपर्नेमा जिल्ला समन्वय समितिका उप–प्रमुख श्री जितेन्द्र कुमार महतोले जानकारी गराए । यस परियोजनाको सफल कार्यान्वयनको शुभकामना पनि दिए ।
जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख कौशल किशोर सिंले विद्यालयहरुमा बालबालिकाको पोषण संरक्षण गर्नुपर्ने भएकोले डा. ओम मुर्ति अनिलले आफ्नो पोडकाष्टमा मस्यौरामा पनि मासुभन्दा धेरै भिटामिन र खनिज पदार्थहरु पाइने भएकोले बालबालिकाहरुलाई कुपोषणबाट बचाउनका लागि विद्यालयहरुले पनि दिवा खाजामा मस्यौराको प्रयोग गर्न जोड दिदै यस परियोजनाको सफलताको कामना पनि गरे ।
प्लान इन्टरनेश्नल नेपाल, क्षेत्रिय कार्यालय पूर्वका क्षेत्रिय प्रबन्धक रवि शंकर पंडितले आफूलाई सहभागिहरुको सक्रिय सहभागिताले एक किसिमको छलफलको माहोल बनेको र मधेश प्रदेशमा काम गर्नुपर्ने र मानव सूचकांङ्कको अवस्था हेर्ने हो भने मधेशको अवस्था धेरै नै दयनिय छ र छलफलको माध्यमबाट पृष्ठपोषण पनि धेरै नै आएको बताए ।
उनले स्थानीय तहहरुले योजना निर्माण गर्दा ७ चरणमा योजना निर्माण गर्नुपर्ने प्रावधान रहेको हुँदा कुन कुन पालिकामा कुन कुन गैर सरकारी संस्थाहरुले काम गर्दैछन् र कुन क्षेत्रमा काम गर्दैछन् भनि मुल्याङ्कन गरी कमजोर सूचकाङ्कलाई मध्यनजर गरी स्थानीय तहले गैर सरकारी संस्थाहरुसँगै हातेमालो गरी हाल सर्लाही जिल्लामा चक्रघट्टा गाँउपालिका जस्तै अरु पालिकाहरु जस्तै कौडेना गा.पा., धनकौल गा.पा. र बसबरिया गा.पा.मा पनि काम गर्दै आइरहेको जानकारी दिँदै वर्षमा एक पटक फेरी बैठक आयोजना गरी परियोजना पूर्वका गतिविधि र परियोजना पश्चात्का गतिविधिबारे सरोबारबालाहरु समक्ष पृष्ठपोषण लिई कार्यक्रमलाई अझै सबल बनाई अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभई परियोजनाको सफलताको कामना गर्दै कार्यक्रम समाप्त भएको घोषण गरेका छन् ।