मृतक रामइश्वर महतोको घर अगाडि भेला भएका स्थानीय । (तस्बीर : उज्यालो अभियान)
बयलवास, २० पुस – सर्लाहीको राइटरखोरमा वनरक्षकको हत्या भएको २४ घण्टापछि झाडीभित्र टाउको फेला परेको छ ।
सागरनाथ वन विकास परियोजनामा कार्यरत चौकीदार ईश्वरपुर नगरपालिका–२, राइटरखोरका ४९ वर्षीय रामइश्वर महतोको बीभत्स हत्या गरिएको अवस्थामा हिजो दिउँसो घाँटीभन्दा तलको भाग फेला परेको थियो । मृतकको शिर भने आज दिउँसो घटनास्थलभन्दा १०० मिटरजति उत्तरतर्फ झाडीभित्र फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं डिएसपी सरोज राईले जानकारी दिए ।
राईका अनुसार मृतकको टाउकोसमेत पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा नै लगिएको छ । यसअघि शरीरको अन्य भाग हिजो मध्यराति अस्पताल लगिएको थियो ।
मृतकको टाउको घटनास्थल नजिक रहेको पोखरीमा फालेको हुन सक्ने आशंकासहित आज बिहान रामजानकी मठको दुइवटा पोखरीमा जाल हानेर खोजी गरिएको थियो । पोखरीमा जाल हान्दापछि पनि टाउको फेला नपरेपछि खोजी गर्दै जाँदा झाडीभित्र फेला परेको हो ।
प्रहरीले गएराति नै पोखरीमा जाल हान्न खोजेको थियो । तर राति अबेर भइसकेको र शीतलहरका कारण जाल हान्न जान्ने मानिससमेत फेला नपरेपछि टाउको खोजी कार्य नै रोक्नुपरेको थियो ।
प्रहरीले वनरक्षक महतोको हत्यामा संलग्न रहेको आरोपमा राइटरखोरकै एक युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रारम्भिक सोधपुछ जारी रहेकाले पक्राउ परेका ती व्यक्तिको परिचय प्रहरीले गोप्य नै राखेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले कपडामा रगत लतपतिएको अवस्थामा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उज्यालो अभियानलाई पुष्टी गरेका छन् । प्रहरीले घटनास्थलबाट रगत लागेको एक थान बन्चरोसमेत फेला पारिएको जनायो ।
सोही बन्चरो प्रयोग गरी वनरक्षक महतोको निर्ममतापूर्वक घाँटी छिनाएर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । वन रक्षक महतो हिजो बिहान ५ बजेतिर रुख काटेको आवाज सुनेपछि साइकल चढेर गस्तीमा गएको समयमा घटना भएको परिवारका सदस्यले बताएका छन् ।
महतो घरबाट निस्किएको ९ घण्टापछि परियोजनाको पलौट क्षेत्रमा टाउको नभएको अवस्थामा मृत फेला परेका थिए । ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले घटनाले पुरै गाउँलाई स्तब्ध पारेको बताए ।
नेकपा भन्छ रामईश्वरको वन तस्करले हत्या गरेका हुन
यसैबिच नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ईश्वरपुर नगर कमिटीले वनका चौकीदार महतोको वन तस्करले हत्या गरेको भन्दै हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाहीको माग गरेको छ ।
नेकपा ईश्वरपुर नगर कमिटीका अध्यक्ष नरेश महतोले आज प्रेस विज्ञप्ती जारी गरी पार्टीका नगर कमिटी सदस्य रामपृत महतो कोइरीको माइलो भाई रामइश्वर महतो विगत १२ वर्षभन्दा लामो समयदेखि परियोजनाको चौकीदारको काम गर्दे आएकोमा हिजो कर्तव्य पालनाको शिलशिलामा वन तस्करबाट धारिलो बन्चरोद्वारा घाँटी छुट्याई हत्या गरिएकोप्रति दुःख व्यक्त गरेका छन् ।