logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एन्फा नेतृत्वद्वारा नवलपुर रंगशालाको निरीक्षण, सहयोग गर्ने प्रतिवद्धता


  • उज्यालो अभियान

नवलपुर, १० पुस – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा निर्माणाधीन फुटबल रङ्गशालाका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जीवेश्वर यूवा क्लबले निर्माण गरेको नवलपुर फुटबल रङ्गशालाको आज बिहान निरीक्षण गर्दै एन्फा अध्यक्ष पङ्कजबिक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, प्रवक्ता सुरेश साहलगायतले मधेश प्रदेशकै उत्कृष्ट रङ्गशाला निर्माण भइरहेकोप्रति खुसी व्यक्त गर्दै एन्फाको तर्फबाट समेत सहयोग गर्ने वचन दिएका हुन् । उनीहरुले कागजी प्रक्रिया पूरा गरेर आए, रङ्गशालामा आवश्यक पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको जीवेश्वर यूवा क्लबका सल्लाहकार राजु राईले जानकारी दिए ।

आफूहरुले अब लगत्तै प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकाले त्यसका लागि पनि सहयोग गरिदिन एन्फा नेतृत्वसँग आग्रह गरिएको राईले बताए । ‘फिफा फुटबल फर स्कुल्स प्रोगाम’ का लागि मधेश प्रदेश आइपुगेको एन्फा नेतृत्वले एक करोड बढी खर्च गरेर निर्माण गरिएको नवलपुर रङ्शालाको निरीक्षण गरेको क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले जानकारी दिए ।

प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लालबन्दी नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकाले क्लबका पदाधिकारी उत्साहित भएर तयारीमा जुटेका छन् ।

फुटबल रङ्गशालाको निरीक्षणमा मधेश प्रदेश फुटबल सङ्घका महासचिव दीपक साह, सर्लाही जिल्ला फुटबल सङ्घका अध्यक्ष ठाकुरबहादुर सुस्लिङ (विष्णु), महासचिव शिवहरि गौतम, जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष रोजित केसी, पूर्व अध्यक्ष अर्जुन चौधरी, लालबन्दी १ का वडाध्यक्ष हरिबहादुर भट्टराई, लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापा, लालबन्दी ६ का पूर्व वडाध्यक्ष उज्वलकुमार कार्कीलगायत सहभागी भएका थिए ।