हरिवन, ०७ पुस – इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले इन्स्पेक्टर अधिकारीलाई आज ‘पुलिस अफ द मन्थ’ घोषित गर्दै पुरस्कृत गरेको हो । प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जिल्ला प्रहरी कार्यालय मलंगवामा इन्स्पेक्टर अधिकारीलाई सम्मान पत्र र नगदसहित सम्मान गरेका छन् ।
अधिकारीले बागमतीमा एक जना पैदलयात्रीको मृत्यु हुने गरी दुर्घटना गराएर फरार भएको कार पक्राउ गरेको, एम्बुलेन्सबाट गाँजा बरामद गरेको, हरिवन १ बाट भरुवा बन्दुक बरामद गरेको, भन्सार छलीका समान बरामद गरेको लगायतलाई आधार मानेर जिल्ला प्रहरी कार्यालयबाट उत्कृष्ट प्रहरीको सम्मान पाएका हुन् ।
प्रहरी कर्मचारीको मनोबल बढाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले महिनैपिच्छे यसरी उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मान गर्ने गरेको छ ।