logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा आज पनि कठ्यांग्रिदो चिसो यथावत्


  • उज्यालो अभियान

लालबन्दी, ०५ पुस – सर्लाहीमा आज पनि कठ्यांग्रिदो चिसो यथावत् रहेको छ ।

अझ आज बाक्लो मात्रामा शितलहर परेर रुखका पात र सडक नै भिजेका छन् । हिजोदेखि एक्कासी बाक्लो मात्रामा हुस्सु, कुहिरो लागेर शितलहर सुरु भएपछि यहाँ चिसोले जनजीवन कष्टकर बन्न थालेको हो ।

हिजैदेखि घाम नलाग्दा असाध्य चिसो बढेको महसुस सर्वसाधारणले गरेका छन् । चिसोले गर्दा बालबालिका, वृद्धृवृद्धा, दीर्घ रोगी र अशक्त बढी प्रभावित बनेका छन् ।

न्यानो कपडा र ओढ्ने ओछ्याउने नभएकाहरु चिसोमा कठ्यांग्रिएर बस्न बाध्य छन् । चिसो बढेपछि चोक, बजारमा मानिसहरु आगो तापेर बसिरहेको देखिन्छ ।

अहिले तोरी बाली फुल खेलेर दाना लाग्न लागेको र आलु खेती हुर्कदै गरेको बेला हुस्सु, कुहिरो र शितलहर सुरु भएपछि ति बाली बिग्रने भन्दै किसान चिन्तित बनेका छन् । चिसो बढेपछि किसानलाई पशुचौपाय र पन्छी जोगाउन पनि समस्या नै परेको छ ।

चिकित्सकले चिसो अत्यधिक बढेकाले सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कनुपर्दा न्यानो कपडा लगाउन, झोलिलो खानेकुरा प्रशस्त खान, बालबालिका, वृद्ध र दीर्घ रोगीको ख्याल गर्न आग्रह गरेका छन् ।

एक्कासी चिसो बढेसँगै जिल्लाको लालबन्दीसहितका अन्य बजारहरुमा न्यानो कपडाको व्यापारमा भने वृद्धि भएको छ ।