बरहथवा, ०४ पुस – सर्लाहीको बरहथवास्थित इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचपत्रको विवरण सङ्कलन कार्य बन्द भएको छ ।
राष्ट्रिय परिचयपत्र फाँटको ल्यापटप बिग्रिएपछि आजदेखि परिचयपत्रको विवरण सङ्कलन कार्य ठप्प हुन पुगेको निमित्त कार्यालय प्रमुख राजेश रायले जानकारी दिए । रायका अनुसार बिग्रिएको ल्यापटप आज बिहानै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग काठमाडौं पठाइसकिएको छ ।
अहिले रहेको ल्यापटपमा अत्यन्त ह्याङ हुने र बारम्बार प्राविधिक समस्या आउन थालेपछि विभागसँग अर्को ल्यापटप मगाइएको इलाका प्रशासन कार्यालयका निमित्त कार्यालय प्रमुख रायले बताए । विभागले आवश्यक सफ्टवेयरसहितका उपकरण जडान गरेरै पठाउने भएकाले अन्य ल्यापटपबाट राष्ट्रिय परिचयपत्रको काम नहुने भएकाले सेवा नै ठप्प गर्नुपर्ने अवस्था आएको रायले जानकारी दिए ।
उनले आगामी सोमबारसम्म अर्को ल्यापटप ल्याएर राष्ट्रिय परिचयपत्रको सेवा सुचारु गर्ने गरी विभागमा समन्वय गरिरहेको बताए । इलाका प्रशासन कार्यालय बरहथवामा राष्ट्रिय परिचयपत्र सम्वन्धी सेवा लिन दैनिक ४० जना भन्दा बढी सेवाग्राही आउने गरेका छन् ।
पछिल्लो समय वैदेशिक रोजगार, बैङ्क तथा वित्तीय संस्थासहित महत्वपूर्ण सेवा लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।