logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

म्याजिक पनि बसपार्कबाटै संचालन गर्न दिइने, व्यवसायीको आन्दोलन स्थगित


  • उज्यालो अभियान

मलंगवा, ०२ पुस – सर्लाही सदरमुकाम मलङ्गवामा बससँगै म्याजिकलाई समेत नयाँ बसपार्कबाटै सञ्चालन हुन दिने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा आज बिहान जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सरोकारवालाको बैठकले विभिन्न शर्त पालना गर्ने गरी म्याजिकहरु समेत बसपार्कबाटै सञ्चालन हुन दिने निर्णय गरेको हो । मलङ्गवा नगरपालिका–२, स्थित जिल्ला प्रहरी कार्यालय छेउमा तीन वर्षअघि नै निर्मित बसपार्क पुस १ गतेदेखि मात्र सञ्चालनमा ल्याइएको छ । नगरपालिकाले बसपार्कबाट बस मात्रै सञ्चालन हुन दिएको र आफूहरुलाई भने जिल्ला समन्वय समितिको तीन बिघे चौरबाट सञ्चालन गर्नुपर्ने भन्दै बसपार्कमै जान नदिएपछि म्याजिक व्यवसायीले सडकमै म्याजिक तेर्साएर आन्दोलन सुरु गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कडरिया, जिल्ला प्रहरी प्रमुख योगेन्द्रकुमार खड्का, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद घिमिरे, बस व्यवसायी, म्याजिक व्यवसायी, ट्राफिक प्रहरी, नगरपालिकाका कर्मचारीलगायतको उपस्थितिमा भएको छलफलमा १५ मिनेटको अन्तरालमा एउटा म्याजिक छुट्ने र बस आफ्नो नियमित समय तालिका अनुसार छुट्ने भन्ने निर्णय गरेको हो । आफूहरु जिल्ला प्रहरी कार्यालय छेउमा नयाँ बसपार्क बन्नासाथ नगरपालिकाको निर्देशन अनुसार बसपार्कबाट सञ्चालन हुँदै आएकोमा पुस १ गतेदेखि नगरपालिकाले जिल्ला समन्वय समितिको मैदानमा पार्किङ गर्न र त्यहीँबाट छुट्न भनेपछि म्याजिक व्यवसायी असन्तुष्ट बनेका थिए ।

मलङ्गवा नगरपालिका–९, स्थित बिच बजारमा रहेको पुरानो बसपार्क रहेको आफ्नो जग्गा खाली गरिदिन कृषि विकास बैङ्कले आग्रह गरेपछि स्थानीय प्रशासन र नगरपालिका कार्यालयले पुस १ गतेदेखि पूर्णरुपमा नयाँ बसपार्क नै सञ्चालनमा ल्याएका हुन् ।

म्याजिक व्यवसायीको आन्दोलनपछि सिडिओको अध्यक्षतामा बसेको उक्त बैठकले राजश्री चोकदेखि दक्षिणतर्फ बस र म्याजिक दुवै सवारी जान नपाउने, प्रत्येक चोकमा पाँच मिनेट भन्दा बढी दुवै सवारी रोक्न नपाउने, जिल्ला ट्राफिक प्रहरी कार्यालयले समय कार्डको व्यवस्था मिलाउनेलगायतको निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।