हरिवन, २४ मंसिर – सर्लाहीको हरिवनमा आज ३३ जनाले रक्तदान गरेका छन् ।
हरिवन सिटी जेसीजले आयोजना गरेको कार्यक्रममा ३३ जना सहभागी भएर रक्तदान गरेका हुन् । जेसीज सप्ताहअन्तर्गत हरिवन नगरपालिका–११, स्थित बजारमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र मलंगवासँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको हरिवन सिटी जेसीजका अध्यक्ष रामप्रवेश दासले जानकारी दिए ।
अध्यक्ष दासका अनुसार आज नै हरिवन नगरपालिका–१, कैलाशपुरीमा रहेको मानवसेवा आश्रममा विभिन्न सामग्री सहयोग गरिएको छ । आश्रममा आवश्यक रहेको भट्टे चुल्हो, कुकर, चप्पल, साबुन, हरपिक, फिनाइललगायतका सामग्री प्रदान गरिएको अध्यक्ष दासले बताए । दासका अनुसार जेसीज सप्ताह अन्तर्गत मङ्सिर २७ गतेसम्म विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरिँदै छ ।
विद्यार्थीका लागि सडक दुर्घटना सम्वन्धी सचेतनामूलक कार्यक्रम, स्कुल ब्याग वितरणसहितका कार्यक्रमहरु गरिने हरिवन सिटी जेसीजले जनाएको छ ।
केही दिनअघि लालबन्दी सिटी जेसीजले पनि यसैगरी जेसीज सप्ताह अन्तर्गत विभिन्न सामाजिक कार्य गरेको थियो ।