हरिवन, २४ मंसिर – जेसीआई हरिवन सिटीको आयोजनामा आजदेखि जेसीज सप्ताह मनाइँदै छ ।
जस अन्तर्गत विभिन्न किसिमका सामाजिक कार्यक्रम आयोजना गरिएका छन् । आज पहिलो दिन बिहान ९ बजेदेखि हरिवन ११ स्थित बजारमा रक्तदान कार्यक्रम र दिउँसो २ बजेपछि हरिवन १ मा रहेको मानव सेवाआश्रममा आवश्यक सामग्री वितरण गर्न लागिएको हो ।
रक्तदान कार्यक्रमको संयोजक रामकृष्ण मैनाली र आश्रममा आयोजना गरिएको कार्यक्रमको संयोजक विवेक महतलाई तोकिएको छ । जेसीज सप्ताह अन्तर्गत भोली २५ गते बिहान ९ बजे चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रेमराज दाहालको संयोजकत्वमा सडक दुर्घटना न्यूनिकरण सम्वन्धी सचेतना कार्यक्रम र भोली नै दिउँसो १२ बजे नवीन लामाको संयोजकत्वमा हरिवन ११ स्थित बजारमा स्लो स्कुटी रेस प्रतियोगिता आयोजना गरिएको छ ।
त्यस्तै मंसिर २६ गते बिहान ९ बजे हरिवन ११ मा स्वागत बोर्ड स्थापना र सोही दिन दिउँसो १२ बजे देउराली प्राथमिक विद्यालय डुम्रीघारीमा ब्याग तथा शैक्षिक सामग्री वितरणका लागि क्रमशः सन्जिवकुमार जयसवाल र रोशन दासलाई संयोजक तोकेर तयारी अघि बढाइएको छ ।
जेसीज सप्ताहको अन्तिम दिन अर्थात् मंसिर २७ गते सगुन सहकारीको सभाहलमा समापन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको हरिवन सिटी जेसीजले जनाएको छ । समापन कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी श्रवण भट्टराईलाई प्रदान गरिएको छ ।