logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मानव अधिकार दिवस मनाइयो


  • उज्यालो अभियान

लालबन्दी, २४ मंसिर – ७७ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस आज सर्लाहीमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी र सदरमुकाम मलङ्गवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । एम्नेस्टी इन्टरनेशनल नेपाल ग्रुप–७८ ले अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा लालबन्दी नगरपालिका ७ स्थित सहीद इगल स्मारक स्तम्भ डुमडुमे मन्दिर अगाडि स्थानीय जनप्रतिनिधि, मानव अधिकारकर्मी, राजनीतिज्ञ, वुद्धजिवीलगायतलाई उपस्थित गराएर अन्तरक्रिया कार्यक्रम गरेको संस्थाका सल्लाहकार समिर सुवेदीले जानकारी दिए ।

ग्रुप–७८ का संयोजक कमलप्रसाद पौडेलको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रममा लालबन्दी नगरपालिकाका कार्यवाहक नगरप्रमुख एवं वडा नं. ३ का वडाध्यक्ष वुद्धदेव चौधरी, एमाले नगर अध्यक्ष उज्वलकुमार कार्की, गोविन्द महत, आभुषण चौलागाई, मानव अधिकारकर्मी सुशील शर्मा, चेतबहादुर मगर, सुरेन्द्र न्यौपाने, ध्रुव केसीलगायतले स्थानीयस्तरमा मानव अधिकारको अवस्थाबारे चर्चा गरे ।

उता सदरमुकाम मलंगवामा मलंगवा नगरपालिकाको आयोजना तथा मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको आयोजनामा सर्लाहीमा मानव अधिकारको अवस्था र चूनौतिको विषयमा अन्तरक्रिया गरिएको छ ।

नगरप्रमुख नागेन्द्रप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद घिमिरेलगायतको उपस्थितिमा अन्तरक्रिया, सम्मानसहितका कार्यक्रम गरेर मानव अधिकार दिवस मनाइएको मानव अधिकारकर्मी मुकेश मिश्रले बताए ।