हरिवन, २२ मंसिर – सर्लाहीको हरिवन नगरपालिका ४ पटौनास्थित धुम्बे खोलामा आज पक्की पुलको शिलान्यास गरिएको छ ।
गणेश स्थान मन्दिर जाने बाटोमा पर्ने धुम्बे खोलामा हरिवन नगरपालिकाले १ करोड २२ लाख ९० हजार ५५ रुपैयाँ ७२ पैसा खर्चिएर पक्की पुल निर्माण गर्ने भएको हो । पुलको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा आज औपचारिक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।
बहुवर्षीय योजना अन्तर्गत आगामी असार मसान्तभित्र पुल निर्माण सक्ने गरी साई सारा कन्ट्रक्सन प्रा.लि. बागमती ५ मकवानपुरले पुल निर्माणको ठेक्का सकार गरेको हरिवन नगरपालिकाका इन्जिनियर जकी अहमद सिद्धकीले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि गएको बैशाख १० गते नै ठेक्का लागेको थियो ।
गणेश स्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार बस्नेतको अध्यक्षतामा आयोजित पुल शिलान्यास कार्यक्रममा हरिवन ४ का वडाध्यक्ष केशवराज थापा, ३ का वडाध्यक्ष दिपमान लोप्चन, ७ का वडाध्यक्ष निरध्वज कार्की, १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली, ११ का वडाध्यक्ष शेष महबुब रेजा, हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष तिलक खड्कालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताले धुम्बे खोलामा पुल निर्माण भएपछि गणेश स्थान मन्दिरलाई थप धार्मिक तथा पर्टकीय स्थलको विकास गर्न र स्थानीयलाई आउजाउ गर्न सहज हुने बताएका छन् ।