हरिवन, २१ मंसिर – सर्लाहीको हरिवनमा एम्बुलेन्सबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।
हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्वरको एम्बुलेन्सबाट लागुऔषध गाँजा बरामद भएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको उक्त एम्बुलेन्समा राखेर गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा प्रहरी परिचालन भएको थियो।
एम्बुलेन्सलाई पछ्याउँदै जाँदा पछाडिपट्टीको भागमा बोराभित्र लुकाइ राखिएको ५१ किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद भएको हो । प्रहरीले एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठा बस्ने ३७ वर्षीय सुरेन्द्र राय यादवलाई नियन्त्रण लिएको छ ।

गएराति बरामद भएको गाँजा, एम्बुलेन्स र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याइ थप अनुसन्धान भइरहेको छ। सर्लाहीमा यसअघि इलाका प्रहरी कार्यालय लालबन्दीले शुक्रबार साँझ लालबन्दी नगरपालिका–११, हीरापुरबाट ५२ केजी गाँजासहित एउटा पिकअप भ्यान र एक जनालाई पक्राउ गरेको थियो ।