ट्रान्सफर्मर चोरी गर्ने व्यक्तिहरुबाट बरामद गरेको सामग्री सार्वजनिक गर्दै एसपी योगेन्द्रकुमार खड्का र डिएसपी सरोज राई । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, २१ मंसिर – प्रहरीले चोरीमा संलग्न गिरोहलाई नै पक्राउ गरेदेखि सर्लाहीमा कृषि प्रयोजनका लागि जडान गरिएको बिजुलीका ट्रान्सफर्मर चोरी हुनेक्रम रोकिएको छ ।
सर्लाही प्रहरीले जिल्लाका विभिन्न १७ स्थानमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहका नौ जनालाई मङ्सिर पहिलो साता पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेपछि जिल्लामा ट्रान्सफर्मर चोरीका घटना रोकिएका हुन् ।
सिँचाईका लागि खेतखेतमा जडान गरिएको ट्रान्सफर्मर चोरी हुँदा किसान, नेपाल विद्युत् प्राधिकरण र प्रहरी हैरान भइरहेका थिए । ट्रान्सफर्मर नै चोरी हुँदा किसान सिँचाई सुविधाबाट बञ्चित हुनुपरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहका नौ जना पक्राउ परेपछि भने ट्रान्सफर्मर चोरी भइरहने तनावबाट मुक्ति पाएको बताए । अहिलेसम्मको अनुसन्धानमा ट्रान्सफर्मर चोरीमा अझै केही व्यक्तिको संलग्नता देखिएको एसपी खड्काको भनाइ छ ।
फरार रहेका ति व्यक्तिहरुलाई समेत प्रहरीले निगरानी गरिरहेको उनले बताए । ट्रान्सफर्मर चोरी गरेर पक्राउ परेकामध्ये चार जना भारतीयसमेत रहेका छन् ।
पक्राउ पर्नेमा इलामको माइजोगमाइ गाउँपालिका–४, का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिका–१, का ४२ वर्षीय सोनाम लामा, महोत्तरीको बर्दिवास नगरपालिका–३, का ५३ वर्षीय बुधे माझी, पर्साको वीरगन्ज महानगरपालिका–१६, का ३३ वर्षीय दिलीपकुमार ओझा र बाराको जितपुर सिमरा उपमहानगरपालिका–६, का ३९ वर्षीय कृष्ण श्रीवास्तव रहेका छन् । त्यस्तै भारतीय नागरिक ५० वर्षीय सुखाडी सहनी, २० वषर््ािय सरोजकुमार सहनी, ५५ वर्षीय मो.रयाजुल र ३५ वर्षीय संजित पदार्थ छन् ।
उनीहरु सबैलाई अहिले सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए । उनका अनुसार प्रहरीले पक्राउ गरेको नौ जनाको साथबाट चोरी गरिएको विद्युत ट्रान्सफर्मरको तार १०३.८ केजी, चोरीमा प्रयोग गरिएको औजार ५१ थान र चोरीमा प्रयोग गरिएको दुई थान ई–रिक्सासमेत बरामद भएको छ ।
अहिलेसम्म पक्राउ परेका व्यक्तिले सर्लाहीमा चोरी गरेको ट्रान्सफर्मरका तारसहितका उपकरण बारा, पर्सालगायत स्थानमा लगेर बिक्री गर्ने गरेको पाइएको छ । यो गिरोहमा संलग्न भइ फरार रहेका अन्य व्यक्तिबारे प्रहरीले थप खुलाएको छैन् ।
चोरीमा संलग्न मानिसले वीरगन्जदेखि इ–रिक्सामै राति आएर ट्रान्सफर्मर चोरी गर्ने गरेको सूचना पाएपछि प्रहरीले सुक्ष्य ढङ्गले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि जिल्लाका कृषकलाई समेत राहत मिलेको छ ।
ट्रान्सफर्मर चोरी भएपछि यहाँको बागमती, रानिगन्ज, चन्द्रनगरलगायत क्षेत्रका किसानलाई सिँचाई गर्नै समस्या परेको थियो ।