गगन थापा ।
मलंगवा, २० मंसिर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सर्लाही सदरमुकाम मंलगवा आइपुगेका छन् ।
कांग्रेसको भावि सभावित पदका सम्भावित उम्मेदवार समेत रहेका थापा वैवाहिक कार्यक्रममा सरिक हुन मलंगवा आइपुगेका हुन् । मलंगवा आएको मौकामा थापाले हिजो बेलुकादेखि नै जिल्लास्थित अगुवा नेता, कार्यकर्तासँग अनौपचारिक भेटघाट गरिरहेका छन् ।
यसअघिको संघीय चुनावमा सर्लाही क्षेत्र नं. ४ बाट चुनाव लड्ने योजनामा रहेका थापा अन्तिम समयमा काठमाडाँैंस्थित आफ्नै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा होमिएका थिए । फागुन २१ लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले विभिन्न बहानामा यसरी कार्यकर्तासँग भेटघाट बाक्लो पार्दै लगेका छन् ।
आज नै प्रदेश राजधानी जनकपुरमा हुने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता घोषणा सन्देश सभामा सरिक हुन सर्लाहीबाट ठुलो संख्यामा नेता, कार्यकर्ता जनकपुर जाँदै छन् । जनकपुरमा हुने उक्त कार्यक्रममा सक्रिय सहभागिताका लागि नेकपा सर्लाहीले विभिन्न चरणमा भेला, बैठक सम्पन्न गरिसकेको छ ।
जनकपुरको उक्त कार्यक्रमलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको नेकपा सर्लाहीका नेता सुरेन्द्र लामाले जानकारी दिए । लामाका अनुसार पार्टीका सहसंयोजक नेपाल हिजो मात्रै नयाँरोडमा केहीबेर नेत, कार्यकर्तालाई भेटेर जनकपुरतर्फ गएका छन् ।