logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

लिफ्टिङ गरेर बेलडाँडामा खानेपानी लगिँदै


  • उज्यालो अभियान

हरिवन, १९ मंसिर – चुरेभेगको विकट पाखामा पर्ने सर्लाहीको हरिवन नगरपालिका–१, बेलडाँडामा लिफ्टिङ गरेर खानेपानी पुर्याउन धमाधम काम भइरहेको छ ।

बेलडाँडाका ३० घरधुरीमा वडा कार्यालय, नगरपालिका र युएनडिपीको समन्वयमा खानेपानी पुर्याउन तीव्रताका साथ काम भइरहेको हो । तीन साताको अवधिमा ७० प्रतिसत बढी काम सम्पन्न भइसकेको बेलडाँडा खानेपानी आयोजनाले जनाएको छ ।

खानेपानी आयोजनाको काम पूरा गर्न युएनडिपीले सोलार र पप्प सिस्टमसहितका लागि ३० लाख र धारा, टुटी, मिटरलगायत जडानका लागि वडा कार्यालयले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । कोठी खोलाको शिरमा बाह्रैमास रसाउने पानीलाई इन्टेक निर्माण गरी १५ हजार लिटर क्षमताको ट्याङकीमा जम्मा गर्ने योजना रहेको छ ।

उक्त ट्याङकीबाट सौर्य उर्जामार्फत १०० मिटर माथि डाँडामा निर्माण गरिएको अर्को १८ हजार लिटर क्षमताको ‘रिर्जभ ट्याङकी’ मा पानी खसालेर प्रत्येक घरधुरीमा खानेपानी पुर्याउने योजना रहेको यूएनडिपी अन्तर्गत सौर्य खानेपानी आयोजनाका इन्जिनियर लोकबहादुर डाँगीले जानकारी दिए । डाँगीका अनुसार कोठीखोला शिरमा प्रतिसेकेण्ड ०.१५ लिटर पानी रसाउने मुहान फेला पारिएको छ ।

पानीको मुहान छेउमा इन्टेकसहित निर्माण गरिएको १५ हजार लिटर क्षमताको ट्याङकीबाट २४ घण्टामा १२ हजार लिटर पानी माथि डाँडामा रहेको १८ हजार लिटर क्षमताको रिर्जभ ट्याङकीमा जम्मा गर्ने योजना रहेको छ । इन्जिनियर डाँगीले डिसेम्बर २० तारिख अर्थात् आगामी पुस ५ गतेसम्म ३० घरधुरीको घरघरमै खानेपानीको धारा झार्ने लक्ष्य रहेको बताए ।

३० घरधुरीमा खानेपानीको धारा पु¥याउन तीन हजार २०० मिटर पाइप लाइन गर्नुपर्ने अवस्था छ । हरिवन १ का वडाध्यक्ष टमबहादुर तामाङले कोठी खोलाको शिरमा बाह्रैमास चट्टानबाट रसाइरहने पानीको मुहान फेला परेपछि लिफ्टिङ गरेर बस्तीसम्म खानेपानी पु¥याउने योजना अघि बढाइएको बताए ।

विकट गाउँ र आयस्रोत न्यून रहेका स्थानीयको घरघरमा खानेपानीको धारा पुर्याउन गाउँलेको कुनै शुल्क नलाग्ने वडाध्यक्ष तामाङको भनाइ छ । बेलडाँडाका स्थानीयले अहिले कुवा र चुरेको पाखामा रसाउने पानी पिउँदै आएका छन् ।

फागुनदेखि असारसम्म कुवा सुक्ने हुँदा खानेपानीको समस्या पर्ने गरेको छ । अहिले भने स्थानीयले देखाएकै ठाउँ कोठीखोलाको शिरमा रसाइरहने पानीलाई खानेपानी ट्याङकीमा जम्मा गरेर लिफ्टिङ गरी घरघरमा खानेपानीको धारा पुर्याउने काम भइरहेको छ ।

हरिवन १ बेलडाँडाका वीरबहादुर वाइबाले खानेपानीको चरम समस्या भोग्न बाध्य आफूहरु खानेपानी आयोजना निर्माण भइरहँदा अब पानीको अभाव टर्ने आशमा बसेको बताए ।