logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

खोलाको पानी पिउनु पर्थ्यो, अहिले घरमै धारा झर्छ


  • उज्यालो अभियान

(तस्बीर : सन्जु कर्ण/उज्यालो अभियान)

घनश्याम बलाम्पाकी/हरिवन, १२ मंसिर – ६० वर्षदेखि खानेपानीको चरम समस्या बेहोर्दै आएका चुरेवर्ती क्षेत्रस्थित सर्लाहीको हरिवन नगरपालिका–१, बिलन्दीका स्थानीय घर घरमै खानेपानीको धारा झरेपछि खुसी छन् ।

हिउँदका केही महिनामा खानेपानीको खोजी गर्दै खोलाखोल्सा धाउन बाध्य स्थानीय अहिले भने घरकै धारामा पानी झरेपछि हर्षित भएका हुन् । २०२२ सालदेखि बसोवास रहेको बिलन्दीका स्थानीयले एक किलोमिटर तल चुरेफेदीमा रहेको कोठी खोलाबाट पानी ओसारेर पिउने गरेका थिए ।

चुरेपाखामा पर्ने बिलन्दीमा हरिवन १ नं. वडा कार्यालयले आठ लाख रुपियाँ खर्चिएर ३० घरधुरीमा खानेपानीको धारा खसालेको हो । बस्तीदेखि माथि रहेको चुरेपाखामा बगिरहने पानीको मुहानमा पाइप लगाएर बस्ती नजिकै २५ हजार लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण गरिएको छ ।

ट्याङकीमा जम्मा भएको पानी बिहान, बेलुका घरघरको धारामा छाड्ने गरिएको छ । बिलन्दी डाँडाकी गृहणी रश्मिला बम्जनले घरमै खानेपानीको धारा झरेपछि दैनिकी नै फेरिएको बताईन् ।

दुई गाग्री पानीले दिनभर पुर्‍याउनुपर्ने बाध्यता टरेको भन्दै बम्जनले खुसी व्यक्त गरेकी छन् । नाम्लो लगाएर खोलाखोल्साबाट पानी बोकेर ल्याउन बाध्य बिलन्दीका स्थानीयको अहिले अवस्था फेरिएको छ ।

अर्का स्थानीय लक्ष्मी योन्जनले खानेपानीको खोजीमा घरको काम छाडेर खोलाखोल्सा हिँड्नुपर्ने बाध्यता हटेको बताईन् । हरिवन १ मा वडा र नगरपालिका कार्यालयले प्राथमिकताका साथ चुरेका बस्तीमा क्रमशः खानेपानी सुविधा पुर्याइरहेको छ ।

हरिवन १ मा अहिलेसम्म कोठीखोला, सखुवनी, बिलन्दी, केराबारी र बनमारा बस्तीमा खानेपानी सुविधा पुगिसकेको हरिवन १ का वडाध्यक्ष टमबहादुर तामाङले उज्यालो अभियानलाई जानकारी दिए ।

अन्य ठाउँमा सौर्य उर्जामार्फत लिफ्टिङ गरी खानेपानी वितरण गरिए पनि बिलन्दीमा भने बस्तीदेखि माथि अग्लो डाँडामा मुहान रहेकाले सोझै पाइपमार्फत ट्याङकीमा पानी जम्मा पारेर वितरण गरिएको वडाध्यक्ष तामाङको भनाइ छ ।