मलंगवा, ०९ मंसिर – आजदेखि सर्लाहीसहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान औपचारिक रूपमा शुरू भएको छ ।
सर्लाहीमा सदरमुकाम मलंगवासहित प्रत्येकजसो पालिकामा पालिका, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने समूह, सन्जाल र गैर सरकारी संस्था, प्रहरी, विद्यालयलगायतले अभियानको सुरुवात गरेका छन् । अभियानको सुरुवातको क्रममा सर्लाहीमा र्याली , अन्तरक्रिया, भेलालगायतक कार्यक्रम सम्पन्न भएका हुन् ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५) को अवसर पारेर हरेक वर्ष झैँ मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ ।
अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने हो ।