मलंगवा, ०९ मंसिर – कुनै समय मालपोत र नापी कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही र बटुवाले शौच गर्ने ठाउँको रुपमा रहेको मलङ्गवास्थित माल पोखरीको मुहार फेरिएको छ ।
मलंगवा नगरपालिका–८, मा रहेको यो पोखरीमा पुग्ने जो कोही पनि अहिले सफासुग्गर देखेर आश्चर्यमा पर्छन् । स्थानीयले माल पोखरीको नाम नै परिवर्तन गरेर सीताराम पोखरी राखेका छन् ।
संघीय सरकारको बजेटबाट पोखरीमा सौन्दर्यकरणसहित छठघाट निर्माणको काम भएपछि पोखरीको मुहार नै फेरिएको हो । केही समय अघिसम्म शौच गर्ने ठाउँ रहेको माल पोखरी वरपर अहिले बिहान स्थानीय तथा कर्मचारीहरु मर्निङवाक गर्नेदेखि घुमफिर गर्न जाने ठाउँ बनेको छ ।
पोखरीको संरक्षणका लागि स्थानीयले समिति गठन गरेका छन् । रन्जितकुमार साह (पप्पु) अध्यक्ष रहने गरी गठन गरिएको १३ सदस्यीय समितिले पोखरीको संरक्षण, सरसफाई र रेखदेख गर्ने काम गर्दै आएको छ ।
सामूहिक रुपमा भेला गरेर पोखरीलाई अब निरन्तर संरक्षण गरी अझ सुन्दर र सफा बनाउँदै लैजाने निर्णय गरिएको पोखरी संरक्षण समितिका अध्यक्ष साहले बताए । पोखरी किनारमा सौन्दर्यकरणको काम जारी नै रहेको छ ।
स्थानीय आफै जागरुक भएर पोखरीको सरसफाई र संरक्षणमा लागेपछि पहिले झैँ मालपोत र नापी कार्यालय पुग्दा पोखरीतर्फबाट दुर्गन्ध आउन बन्द भएको सेवाग्राहीले बताएका छन् । मलङ्गवा नगरपालिका ८ का वडाध्यक्ष मुकेशकुमार जयसवालले स्थानीय सबै जुर्मुराएर लागि परेकाले पोखरीको संरक्षण र सौन्दर्यकरणमा टेवा पुगेको बताए ।