logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

बेवारिसे पुरुषद्वारा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास


  • उज्यालो अभियान

आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्दा जलेर घाइते भएका पुरुष । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, ०९ मंसिर – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दीमा आज साँझ एक बेवारिसे पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दिर अगाडिको राजमार्गमा अन्दाजी ५०/५५ वर्षको जस्तो देखिने नाम, ठेगाना खुल्न नसकेको पुरुषले आत्मदाहको प्रयास गरेका हुने । प्रत्यक्षदर्शीका अनुसार ती पुरुषले पेट्रोल छर्किएर शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।

तत्काल नजिकै रहेका मानिसहरुले पानी र शरीरमा बालुवा हालेर आगो निभाएको प्रत्यक्षदर्शी रोशन बोहोराले उज्यालो अभियानसँग बताएका छन् । आगोले पुरुषको शरीरको अधिकांश बाहिरी भाग जलेको देखिन्छ ।

घाइते पुरुषलाई लालबन्दी सिटी केयर अस्पतालमा सामान्य उपचारपश्चात भर्खरै थप उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको लालबन्दी प्रहरीका प्रमुख एवं इन्स्पेक्टर वीरेन्द्रसिंह जोहारीले बताएका छन् । प्रहरी निरीक्षक जोहारीका अनुसार घाइते पुरुषको परिचय खुलाउन प्रयास भइरहेकै छ ।

घाइतेलाई थप उपचारका लागि एम्बुलेन्समा जनकपुरतर्फ पठाइँदै । (तस्बीर : उज्यालो अभियान)

आत्मदाहको प्रयास गर्ने व्यक्तिको मोवाइलमा सूर्य पोखरेलको नामबाट रहेको फेसबुक आइडी लग इन रहेको पाइरहेको छ । स्थानीयले शरीरमा लागेको आगो निभाउने बित्तिकै सोधीखोजी गर्दा घाइते पुरुषले समेत आफ्नो नाम सूर्य पोखरेल र घर मोरङ भनेका छन् ।

तर इन्स्पेक्टर जोहारीले घाइतेले बताए अनुसार नाम र ठेगाना पुष्टी हुने कुनै आधार नभेटिएको र परिवार तथा आफन्त सम्पर्कमा नआएका उज्यालोसँग बताए । इन्स्पेक्टर जोहारीले भने“ घाइतेको साथमा मोवाइल पनि छ तर अहिलेसम्म कसैको फोन आएको छैन्, हामी नाम, ठेगाउना पत्ता लगाउने प्रयासमै लागेका छौँ ।”

लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले आत्मदाहको प्रयास गर्ने पुरुषलाई पहिलो पटक आजै देखिएको बताए ।