चन्द्रनगर, ०९ मंसिर – फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदानस्थलहरुको निरीक्षण सुरु गरिएको छ ।
निर्वाचनको तयारीस्वरुप हिजो जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका पदाधिकारीले ३ वटा पालिकाको मतदानस्थलको निरीक्षण गरेका हुन् । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अध्यक्ष रहने गरी जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति हुन्छ ।
सर्लाहीमा उक्त समितिका पदाधिकारीले आज पहिलो दिन सदरमुकाम मलंगवा नगरपालिकासहित दक्षिणपूर्वी क्षेत्रको ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकाभित्रका मतदानस्थलको निरीक्षण गरेका हुन् । मंसिर २ गते जिल्ला प्रशासन कार्यालय मलंगवामा सम्पन्न जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले जिल्लाभित्र कुनै मतदानस्थल परिवर्तन गर्नुपर्ने भए सिफारिस पठाउन वडास्तरीय समितिलाई आग्रह गरेको थियो ।
वडास्तरमा वडाध्यक्ष अध्यक्ष रहने गरी वडा सचिव, वडामा क्रियाशील राजनीतिक दललगायत सम्मेलित वडास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति रहन्छ । सर्लाहीमा हाल ३१२ मतदानस्थल र ६०० मतदान केन्द्र रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले मतदानस्थलको भौतिक अवस्था र शान्ति सुरक्षाको स्थिति बुझ्न अनुगमन सुरु गरिएको उज्यालो अभियानसँग जानकारी दिए । निरीक्षणमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सञ्जयकुमार मण्डल, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल र निर्वाचन अधिकारी साह सरिक भएका छन् ।
यो टोलीले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका अगुवा, कर्मचारी, विद्यालयका शिक्षकलगायतसँग मतदानस्थलको अवस्थाबारे जानकारी लिएको छ । सर्लाहीमा अहिले अधिकांश मतदानस्थल विद्यालय, मठमन्दिर, वडा कार्यालय र स्वास्थ्य चौकी परिसरमा रहेका छन् ।
सर्लाहीमा भर्खरै साढे २२ हजार भन्दा बढी मतदाता थपिएकाले मतदान केन्द्रहरु पनि थप हुने निश्चित जस्तै रहेको छ । यसअघि जिल्लाभर ४ लाख ९० हजार ४ जना मतदाता रहेकोमा मतदाता नामावलीसम्वन्धी अध्यादेश जारी भएर निर्वाचन घोषणा भएपछि पनि नामावली संकलन हुँदा कार्यालयमै आएर तथा अनलाइनबाट समेत गरी २२ हजार ५ सय ९५ नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।