मलंगवा, ०९ मंसिर – जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घाइतेको अवस्था अनुसार बर्गिकरण गर्ने तयरी गरेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले उज्यालो अभियानसँग कुरा गर्दै गृह मन्त्रालयको निर्देशन अनुसार जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिलाई सम्पर्कमा आउन भनिएको बतएका छन् । “जेनजी प्रदर्शनका घाइतेहरुको बर्गिकरण सम्वन्धी कार्यविधि–२०८२” अनुसार गठित हुने जिल्लास्तरीय सहजीकरण समितिले घाइते तथा अपाङ्गको बर्गिकरण गर्ने भएको हो । त्यसका लागि जिल्लास्तरीय सहजीकरण समिति गठन गर्ने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी कडरियाले जनाए ।
कार्यालयले जेनजी आन्दोलनमा घाइते भएका जिल्लाभित्रका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र र घाइते परिचयपत्रसमेत लिएर सम्पर्कमा आउन आग्रह गरेको हो । जेनजी आन्दोलनको क्रममा सर्लाहीका एक जनाको काठमाडौंस्थित कालिमाटीमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
मृतक लालबन्दी नगरपालिका–५, का देवकुमार सुवेदीको परिवारलाई गृह मन्त्रालयले १० लाख रुपियाँ सहायता रकम र पाँच लाख रुपियाँ काजकिरिया खर्च प्रदान गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जेनजी अन्दोलनमा काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा सर्लाही घर भएका १६ जना युवा घाइते भएका छन् ।