logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

‘विवादास्पद’ प्रमुख प्रशासकीय अधिकृत साहको सरुवा


  • उज्यालो अभियान

हरिपुर्वा, १९ कात्तिक – बारम्बार विवादमा पर्दै आएका सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवहरुको सरुवा निकाल्दा हरिपुर्वामा कार्यरत साहको बहुदरमाई नगरपालिका पर्सामा सरुवा भएको हो । प्रमुख प्रशासकीय अधिकृत साह कार्यालयमा बस्दै नबस्ने गरेको र लालबन्दी तथा चन्द्रनिगाहपुरमा बसेर कार्यालय संचालन गरी आर्थिक अनियमितता गरिरहेको गुनासो आइरहेको थियो ।

केही दिनअघि हरिपुर्वाबाट वडाध्यक्षसहितको नेतृत्वमा आएको टोलीले लालबन्दी बजारस्थित साह बस्ने क्वाटरमा तोडफोड गरी प्रमुख प्रशासकीय अधिकृत साह र सँगै रहेका नगरप्रमुख विनोदकुमार साह तेलीलाई कुटपिटको प्रयास गरेका थिए । प्रहरी नै पुगेर स्थिति सामान्य पार्नुपरेको थियो ।

साहको सरुवा भएपछि लालबन्दीमा आएर आक्रमणको प्रयासमा उत्रने समूह खुसी भएको छ । तर नगरपालिका कार्यालय भने पुनः प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेको छ ।

हरिपुर्वा नगरपालिकामा प्रायः प्रमुख प्रशासकीय अधिकृतको अभाव भइरहन्छ । असाध्य विवाद भइरहने भएकाले यहाँ कोही पनि उपसचिव हम्मेसा कार्यभर सम्हाल्न आउनै मान्दैनन् ।

सरुवा गरेर पठाइएकाहरु अनेक बहानाबाजी गरेर हाजिर नै नभई अन्यत्र सरुवा भएर जाने परिपाटी रहेको छ ।

सर्लाहीको हरिपुर, ब्रम्हपुरी, विष्णु, मलंगवालगायत पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नै जनप्रतिनिधिका लागि प्यारो भइरहेका छन् ।