logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र


  • उज्यालो अभियान

मलंगवा, ०१ कात्तिक – भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा घाइते भएकालाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत परिचय–पत्र वितरण गर्न सुरु गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले गृह मन्त्रालयले जेनजी आन्दोलनको क्रममा सर्लाही घर भएका १६ जना युवा घाइते भएको विवरण उपलब्ध गराएको उज्यालो अभियानसँग बताए । मन्त्रालयको निर्देशन बमोजिम काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको आन्दोलनमा घाइते भएका १६ जनालाई प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षर गरिएको घाइते परिचय–पत्र क्रमशः प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

जिल्लामा पहिलो पटक ब्रह्मपुरी गाउँपालिकाका घाइते एक युवकलाई परिचय–पत्र प्रदान गरिएको छ । जेनजी आन्दोलनमा घाइते भइ उपचार गराएर घर फर्किसकेका युवालाई सरकारले थप २० हजार रुपियाँसमेत जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।

सो निर्णय बमोजिम घाइतेलाई प्रदान गर्न जिल्लामा पठाइसकिएको रकम पनि केही दिनभित्रै घाइतेहरुलाई प्रदान गर्न सुरु गरिने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।

जेनजी आन्दोलनको क्रममा सर्लाहीका एक युवकको मृत्युसमेत भएको थियो । मृतक लालबन्दी नगरपालिका–५, शान्ति टोलका देवकुमार सुवेदीको परिवारलाई मन्त्रीपरिषद्को निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय सर्लाहीले तीन साताअघि १५ लाख रुपियाँ सहायता रकम प्रदान गरिसकेको छ ।