logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आफन्तलाई राहत बाडिएको आरोप लगाउँदै बाढी पीडित आन्दोलित


  • उज्यालो अभियान

कौडेना, ३० असोज – जनप्रतिनिधिले बाढी पीडितको नाउमा आफन्तलाई प्राथमिकता दिएर राहत वितरण गरेको भन्दै सर्लाहीको कौडेनामा आज बाढी पीडितले प्रदर्शन गरेका छन् ।

उनीहरुले पूर्वपश्चिम हुलाकी सडकमा चक्काजाम गर्दै वास्तविक पीडितलाई मात्र राहत दिन माग गरेका हुन् । असोज १८ गतेको भारी वर्षापछि लखन्देखी खोलामा बाढी आउँदा कौडेना गाउँपालिका–३, पर्सा टोल डुबानमा परेको थियो ।

बाढीपछि गाउँपालिका कार्यालय र विभिन्न गैरसरकारी संस्थाले राहत वितरण गरिरहेका छन् । बाढी पीडित विनोद मण्डल धानुकले पीडितका लागि आएको राहतमा जनप्रतिनिधि निकटका मानिस र आफन्तले मोजमस्ती गरेका गुनासो गर्नुभयो । वास्तविक पीडित भने भोकभोकै बस्नुपरेको धानुकले गुनासो गरे ।

राहत वितरणमा अनियमित भएको भन्दै बाढी पीडित महिला, बालबालिकालगायत सबै हुलाकी राजमार्गमा निस्किएर चक्काजाम गरेका हुन् । मध्य असोजको वर्षापछि आएको बाढीले अतिप्रभावित बनेको कौडेना, रामनगर, बलरालगायत ठाउँमा अहिले विभिन्न सङ्घसंस्थाले राहत वितरण गरिरहेका छन् ।

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले ठूलो सङ्ख्यामा राहत वितरण गर्दा पीडित छुटेको र नपाउनुपर्ने मानिसले राहत पाएको हुनसक्ने स्वीकार गरेका छन् ।

गाउँपालिकाले नभइ गैरसरकारी संस्थाले राहत वितरण गरिरहँदा पीडित परिवारलाई मल्हम मिलिरहेको भन्दै अध्यक्ष बब्लुले राहत दिने संस्थाले बद्मासी गरेको भए कारवाही गर्ने बताए । आफूले राहत लिएर आएका संस्थालाई आफ्नो पार्टी, मत दिएको मान्छे केही पनि नभनी वास्तविक पीडितलाई मात्र राहत प्रदान गर्न निर्देशन दिएको उनको भनाइ छ ।