जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)
नवलपुर, २९ असोज – सर्लाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र तीनवटा इलाका प्रहरी कार्यालयका इन्चार्जसहित ७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आज देशभरका ६६५ जना इन्स्पेक्टरको सरुवा गर्दा सर्लाहीमा कार्यरत ७ जना इन्स्पेक्टरको सरुवा भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं इन्स्पेक्टर रजोस घिमिरेको जिल्ला प्रहरी कार्यालय तनहुँ सरुवा हुँदा सर्लाहीमा अब ट्राफिक प्रमुखको रुपमा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरबाट इन्स्पेक्टर अशोककुमार साह आउने भएका छन् ।
इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका इन्स्पेक्टर उमाकान्त जोशीलाई सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी कैलालीमा सरुवा गरी बयलवासमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरीक्षक नितेशकुमार सिंहलाई इन्चार्ज बनाएर पठाइएको छ ।
हरिपुरस्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रोमनराज अर्यालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौंमा सरुवा हुँदा हरिपुरको इन्चार्जका रुपमा इलाका प्रहरी कार्यालय लहान सिरहामा कार्यरत इन्स्पेक्टर शिव कटेललाई पठाइएको छ ।
मुद्दा नचल्ने इलाका प्रहरी कार्यालयको रुपमा रहेको र काजमा इन्स्पेक्टर खटाइँदै आएको इलाका प्रहरी कार्यालय गडहीयाका इन्स्पेक्टर उज्वल कार्कीको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा हुँदा गडहीयामा बागमती प्रदेश प्रहरी गण हेटौंडाबाट इन्स्पेक्टर कैलाश चौधरीलाई इन्चार्ज बनाएर पठाइएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत दुई जना इन्स्पेक्टर फेरिएका छन् । जिल्लाका इन्स्पेक्टर बालिष्टर सिंहको इलाका प्रहरी कार्यालय सुनौला बजार धादिङ र इन्स्पेक्टर रवीन्द्र कार्कीको इलाका प्रहरी कार्यालय दरवाङ म्याग्दीमा सरुवा भएको छ ।
प्रहरी हेडक्वार्टरले इन्स्पेक्टर सिंहको ठाउँमा इलाका प्रहरी कार्यालय चिसापानी स्याङ्जाबाट इन्स्पेक्टर जीवन श्रेष्ठ र कार्कीको स्थानमा कोशी प्रदेश विपद् व्यवस्थापन गुल्म झापाबाट इन्स्पेक्टर विन्देश्वर यादवलाई पठाइएको छ ।
डिएसपी इन्चार्ज रहेको इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत इन्स्पेक्टर दिवाकर गणेशको इलाका प्रहरी कार्यालय सिमरा बारामा सरुवा हुँदा बरहथवामा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट इन्स्पेक्टर किरण लामालाई पठाइएको छ ।