बागमती, २८ असोज – कर्मैया–पिपलमाडी सडक नौ दिनपछि खुलेको छ ।
ठुलो पानी परेर असोज १८ गते राति सर्लाहीको बागमती नगरपालिका–११, परेवाभीरमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । बस व्यवसायी आफैले एक सातासम्म जेसिबी प्रयोग गरेर पहिरो पन्छाएपछि आइतबारदेखि सडक सुचारु भएको बस व्यवसायी किस्मतराज मैनालीले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको बागमतीबाट मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको झनझनेसम्म पुग्ने कर्मैय–पिपलमाडी सडक १६ किलोमिटर छ । त्यसमध्ये सर्लाही खण्डमा डेढ किलोमिटर मात्रै पर्छ । तर बागमतीबाट थोरै अगाडि बढ्ने बित्तिकै सर्लाहीखण्डमा असाध्य साँघुरो र जोखिमपूर्ण भीरपाखा रहेकाले बारम्बार पहिरो खसेर समस्या पर्दै आइरहेको बस व्यवसायी मैनालीले बताए ।
सर्लाही खण्डको डेढ किलोमिटर सडक व्यवस्थित हिसाबले निर्माण गरिदिन बागमती नगरपालिकालाई बारम्बार आग्रह गर्दा चासो नदिएको बस व्यवसायीले गुनासो गरेका छन् । यही सडक भएर सिन्धुलीको हरिहरपुरगढी, मरिण र मकवानपुरको बागमती गाउँपालिकाका स्थानीय बागमती र हरिवन बजारमा किनमेलका लागि आउने गरेका छन् ।
यहाँबाट पनि विभिन्न व्यापार व्यवसाय गर्ने मानिस आफ्ना सरसामग्री बेच्न यही सडक भएर सिन्धुली र मकवानपुरको ग्रामीण भेगसम्म पुग्ने गरेका छन् । मधेश र बागमती प्रदेशलाई जोड्ने ‘लिङ्क रोड’ समेत भनिने यो सडक निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।
यसैबिच सर्लाहीको सबैभन्दा दुर्गम भेग र सडक सञ्जालमै नजोडिएको लालबन्दी नगरपालिका–१४, नारायणखोलामा खोलाबाट बस सञ्चालनका लागि बाटो निर्माण गरेर सम्पन्न हुने चरणमा पुगेको छ । नारायणखोलाका वडाध्यक्ष एवं बस व्यवसायी छेनामसिंह घिसिङले आज बेलुकासम्म खोलाको बाटो बनाइसकेर भोलीदेखि बस सञ्चालन गर्ने तयारी रहेको बताए ।
खोलाको बाटो निर्माण गरेर लालबन्दी नगरपालिका–१५, शीर कालिन्जोर र ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा भने गाडी सञ्चालन हुन थालिसकेका छन् ।