लालबन्दी, २६ असोज – सर्लाहीको लालबन्दीमा मोतियाविन्दु भएका ३४ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
लालबन्दी नगरपालिका ५ जरुवापानीमा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीद्वारा संचालित सामुदायिक परोपकार आँखा उपचार केन्द्रको भवनमा हिजो ३४ जना मोतियाविन्दु तथा ३ जना आँखामा मासु पलाउने रोगका बिरामीको निःशुल्क अप्रेसन गरिएको हो । जानकी आँखा अस्पताल जनकपुरका डा. अमितकुमार यादव नेतृत्वको टोलीले अप्रेसन गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।
रेडक्रसले लालबन्दीमा यसरी बेलाबेलामा निःशुल्क आँखा शिविर र मोतियाविन्दुको अप्रेसन क्याम्प राखिदिँदा यस क्षेत्रका आँखाका बिरामीलाई राहत मिल्दै आएको छ ।
उता वर्षेनि झैँ सर्लाहीको बागमतीमा हिजोबाट निःशुल्क आँखा शिविर र मोतियाविन्दुको अप्रेसन क्याम्प सुरु भएको छ । हिजो पहिलो दिन बागमती नगरपालिका १० शंकरपुरमा सम्पन्न शिविरमा १३७ जनाको आँखा परीक्षण गर्दा २९ जनामा मोतियाविन्दुको समस्या देखिएको नगर स्वास्थ्य शाखा संयोजक पद्मबहादुर रायमाझीले बताए ।
रायमाझीका अनुसार बागमती नगरपालिकाका विभिन्न वडामा असोज २९ गतेसम्म निःशुल्क आँखा शिविर संचालन गरी मोतियाविन्दुको अप्रेसन क्याम्प राखिने छ ।