प्रहरीले पक्राउ गरेको वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दास । (तस्बीर : वडाध्यक्ष दासकै फेसबुकबाट)
गोडैता, २३ असोज – प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका सर्लाहीको गोडैता नगरपालिका ७ का वडाध्यक्ष छोटेलाल भन्ने बिनेशकुमार दास अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या भएपछि उनी आज प्रादेशिक अस्पताल मलंगवामा भर्ना भएका हुन् । उनको प्रहरी निगरानीमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।
वडाध्यक्ष दास निकटका मानिसले उनी मुटुसम्वन्धी रोगबाट पीडित रहेको बताएका छन् । असोज १७ गते प्रहरी चौकी गोडैतामा आक्रमण गरेको र चौकीका इन्चार्ज सई अवधेशप्रसाद यादवलाई कुटपीट गरी अगाडिको दुईवटा दाँत भाच्दिएको आरोपमा प्रहरीले वडाध्यक्ष दासलाई मंगलबार पूर्वपश्चिम राजमार्गस्थित कर्मैयाबाट पक्राउ गरेको थियो ।
प्रहरीले हिजो मात्रै वडाध्यक्ष दासविरुद्ध सर्लाही जिल्ला अदालतबाट कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा अनुसन्धानका लागि ३ दिनको म्याद लिएको थियो । दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७, मा स्थानीय कारिल यादवलाई रामनगर गाउँपालिका–५, बस्ने अनिल राय यादवलगायतले कुटपिट गरेको विषयलाई लिएर कारिल यादव पक्षका वडाध्यक्ष दाससहितले प्रहरी चौकीमा आएर आक्रमण गरेको आरोप लागेको छ ।
कारिल यादवलाई कुटपीट गर्ने ठेकेदारसमेत रहेका अनिल राय यादव अहिले पनि प्रहरीको नियन्त्रणमै रहेका छन् ।
वडाध्यक्ष दासलाई पक्राउ गरेको विरोधमा हिजो गोडैता बजार बन्द गराइएको थियो । आज भने बजार निर्वाधरुपमा खुलेको स्थानीयले बताएका छन् ।
गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले वडाध्यक्ष दासलाई राजनीतिक पूर्वाग्रह राखेर झुठो आरोपमा पक्राउ गरिएको बताएका छन् ।
वडाध्यक्ष दास २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित भएका थिए ।