logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सुरक्षाकर्मीले बनाए बाँसको लच्का, दुई पाङ्ग्रे सवारी ओहोरदोहोर गर्न थाले (तस्बिरहरु)


  • उज्यालो अभियान

कौडेना, २१ असोज – गएको शनिबार रातिको बाढीले सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सामा पूर्वपश्चिम हुलाकी सडक बगाएपछि बाँस र पटाको लच्का बनाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएर आज बिहान अस्थायी लच्का निर्माण गरेका हुन् । उक्त लच्काबाट आज मध्यान्हदेखि मानिस, साइकल र मोटरसाइकल आउजाउ गर्न थालिसकेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

सिडिओ श्रेष्ठका अनुसार चार पाङ्ग्रे सवारी साधनलाई समेत डाइभर्सन निर्माण गरेर वारपार गराउने व्यवस्था मिलाउन पहल भइरहेको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाले शनिबार राति लखन्देही खोलामा ठुलो बाढी आउँदा कौडेना र फूलपरासीको बिचमा पर्ने पर्सा टोलमा १५० मिटर पूर्वपश्चिम हुलाकी सडक बगाएको छ ।

मुख्य सडक नै बगाएपछि सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने कौडेनासहित गोडैता नगरपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाका वासिन्दालाई सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्न असाध्य समस्या परिरहेको छ । कालोपत्रे सडक बगाएपछि स्थानीय केही युवा मिलेर हिजो बिहानदेखि बाँस र पटाको लच्का बनाइ शुल्क उठाएर पैदलयात्रु, साइकल र मोटरसाइकल तार्ने व्यवस्था मिलाएका थिए ।

उनीहरुले लच्काबाट तारिदिए बापत प्रतिव्यक्ति १० रुपियाँ, साइकलको २० रुपियाँ र मोटरसाइकलको १०० रुपियाँ उठाएका थिए । यसरी शुल्क उठाएर लखन्देहीको भेल तार्न थालिएको समाचार चौतर्फी फैलिएपछि स्थानीय प्रशासनले हिजो बेलुकादेखि नै पैसा उठाउन रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पैसा उठाइएको गुनासो आएपछि तत्काल त्यसलाई बन्द गरी आज बिहान सुरक्षाकर्मी परिचालन गरी अस्थायी रुपमा बाँस र पटाको लच्का बनाइएको उज्यालो अभियानसँग बताएका छन् ।

हुलाकी सडक बगाएर आवतजावत रोकिएपछि हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्ण महतोसहितको टोली अहिले कौडेना आइपुगेको छ । उनीसहितको टोली र सरोकारवालाबिच अहिले छलफल जारी छ ।

महतोले तत्काल नजिकै डाइभर्सन निर्माण गरेर सवारी साधन आवतजावतको व्यवस्था मिलाएर सडक निर्माणको काम अघि बढाइने जानकारी दिए ।