लालबन्दी, २१ – असोज पूर्वपश्चिम राजमार्गमा सवारीको चाप बढ्न थालेको छ ।
दशैँ मनाएर सङ्घीय राजधानी काठमाडौं फर्किनेहरुका कारण राजमार्गमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनको चाप बढेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले दुई दिनदेखि हाइवेमा गाडीको चाप बढेको जानकारी दिए ।
शुक्रबार रातिदेखि आइतबार बिहानसम्मको भारी वर्षापछि बाढी आएर ठाउँठाउँमा कटान गरेकाले बिपी राजमार्ग बन्द हुँदा पूर्वका विभिन्न जिल्लाबाट छुट्ने गाडीसमेत अहिले पूर्वपश्चिम राजमार्ग हुँदै हेटौंडा भएर काठमाडौं गइरहेका छन् । त्यसैले पनि राजमार्गमा सवारीको चाप देखिएको ट्राफिक इन्स्पेक्टर घिमिरेको भनाइ छ । हेटौंडाबाट काठमाडौं जाने सडक सूचारु भएसँगै सर्लाहीबाट दशैँ मनाउन घर, गाउँ आएकाहरु धमाधम फर्कन थालेका छन् ।
सर्लाही–काठमाडौं रुटमा चल्ने अधिकांश सवारीले आज बिहानबाट कोचामकोच यात्रु लिएर काठमाडौं जान थालेका छन् । दशैँ बिदापछि कार्यालयहरु खुल्न थालेकाले पनि अधिकांश मानिस काठमाडौं फर्कन थालेपछि राजमार्गमा सवारीको चाप बढ्न पुगेको हो ।
यो समयमा सवारी दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । दशैँ मनाउन आएकाहरुका कारण साता/दस दिन चहलपहल देखिएको ग्रामीण भेग पुनः सुनसान देखिन थालेको छ ।
दशैँ मनाउन घर आएकाहरु मोटरसाइकलसहित अन्य विभिन्न सवारी साधनमा धमाधम काठमाडौं उपत्यकासहित आ–आफ्नो कर्मथलो फर्कन थालेका स्थानीयले जानकारी दिएका छन् ।