logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा १५ घण्टादेखि अविरल वर्षा, बागमती ड्यामको सबै ढोका खोलियो


  • उज्यालो अभियान

हरिवन, १८ असोज – सर्लाहीमा शुक्रबार रातिदेखि नै मेघगर्जनसहित निरन्तर पानी परिरहँदा जनजीवन प्रभावित बनेको छ ।

मुख्य चाड दशैँको समयमा निरन्तर मुसलधारे वर्षा भइ बाहिर निस्कनै नसक्ने अवस्था आउँदा सर्वसाधारण प्रभावित बनेका हुन् । भारी वर्षा जारी रहेकाले अत्यावश्यक काम परेका मानिससमेत घर बाहिर निस्कन सकेका छैनन् ।

मान्यजनकहाँ दशैँको टीका, जमरा ग्रहण गर्न जानुपर्नेहरु लगातार झरी परिरहँदा घरमै थन्किएका छन् । सङ्घीय राजधानी काठमाडौँ जाने सवारी साधन ठप्प भएपछि शनिबार बिहान काठमाडौँ हिँडेका कतिपय मानिस बाटोबाटै फर्किएका छन् भने तयार बसेका बसेका कतिपयको यात्रा अनिश्चित बनेको छ ।

दशैँ मनाएर शनिबार बिहान काठमाडौँ फर्कने गाडी बुक गरेपनि भारी वर्षाका कारण गाडी जानै नसकेको लालबन्दी नगरपालिका–९, बस्तीपुरका निराजन पोखरेलले बताए । भारी वर्षाका कारण सर्लाहीसहित तराई क्षेत्रबाट काठमाडौं जाने गाडी ठप्प भएका छन् भने लामो दुरीमा चल्ने अन्य गाडी पनि पातलो मात्रामा चलिरहेको देखिन्छ ।

सार्वजनिक सवारी साधनमा यात्रु कम देखिन्छन् । लगातारको वर्षाले सर्लाहीको चुरेवर्ती क्षेत्रमा यातायातका साधन ठप्प भएका छन् ।

ईश्वरपुर नगरपालिका–१२, का वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले प्रत्येक खोलामा ठुलो बाढी आएकाले चुरेभेगमा पैदल हिँडेरै जाने अवस्थासमेत नरहेको बताए । भारी वर्षाका कारण दशैँ मनाइसकेर कर्मथलो फर्कने तयारी गरेकाहरु तत्काल सुरक्षित भएर घरमै बस्नुपर्ने अवस्था आएको छ ।

भारी वर्षात्‌ले गर्दा सर्लाहीमा बिजुली अनियमित बनेको छ । अधिकांश स्थानमा मोवाइलको नेटवर्कसमेत अवरुद्ध हुँदा टेलिफोन सम्पर्कमै समस्या पैदा भएको स्थानीयले गुनासो गरेका छन् ।

लगातार पानी परिरहँदा पशुपालक किसानलाई पशुवस्तुका लागि आहारा जुटाउन समस्या परेको छ । पानी पर्न नरोकिँदा शनिबार दिनभर लालबन्दी, हरिवन, बरहथवा बयलवास, मलङ्गवासहित जिल्लाका हाटबजारका अधिकांश पसल, व्यवसाय खुल्न सकेनन् ।
मौसम पूर्वानुमान महाशाखाको पूर्व सूचना अनुसार भारी वर्षा भइरहँदा स्थानीय प्रशासन सतर्क अवस्थामा रहेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठले बाढी तथा डुबानको समस्या आउनासाथ तत्काल उद्धारको काम गर्न तयार अवस्थामा रहेको बताए ।

सिडिओ श्रेष्ठका अनुसार करिव १५ घण्टादेखि अविरल वर्षा भइरहँदा शनिबार साँझ ५ बजेसम्म जिल्लामा बाढी तथा डुबानको समस्या आइसकेको छैन् । शनिबार साँझबाट झन् ठुलो पानी पर्न थालेकाले अब बाढी तथा डुबानको समस्या सुरु हुने अनुमान गरिएको छ ।
बागमती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँकेलगायतका खोलामा शनिबार अपरान्हबाट बाढी बढ्न थालेको छ । खोला किनारका स्थानीयलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ ।

काठमाडौं उपत्यका, मकवानपुर, सिन्धुलीलगायत क्षेत्रमा पानी पर्नेक्रम बढेसँगै बागमती खोलामा पानीको सतह वृद्धि भएपछि शनिबार दिउँसोदेखि सर्लाहीस्थित बागमती कर्मैयामा बागमती सिँचाई आयोजनाको ३६ वटै ढोका खोलिएको छ ।