लालबन्दी, ०९ असोज – चाडपर्वमा हुने ठगी र कालोबजारी रोक्न सर्लाहीमा बजार अनुगमनलाई तीव्र पारिएको छ ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले लालबन्दी, हरिवन, बयलवास, नवलपुर, गैर, बरहथवा र मलङ्गवा बजारको अनुगमन गरिएको जानकारी दिए । उनले उज्यालो अभियानलाई बताए अनुसार मासु, खाद्यान्न र मिठाई पसललाई बढी जोड दिएर अनुगमन कार्य भइरहेको छ ।
जिल्लाका आधा दर्जन प्रमुख हाटबजारको अनुगमन गर्दा अधिकांश ठाउँमा म्याद गुज्रिसकेको अखाद्य वस्तु बिक्री गरिएको, मुल्य सूची नराखी मनपरी मुल्य लिइएको र सरसफाईमा ध्यान नदिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । त्यस्तो किसिमको लापरवाही गर्ने व्यवसायीलाई कारवाहीस्वरुप तीन लाख रुपियाँको हाराहारीमा जरिवानासमेत तिराइसकिएको सहायक सिडिओ पोखरेलले जनाए ।
प्रमुख चाडपर्वमा प्रायः ठगी र कालोबजारीको धन्दा चल्ने भएकाले जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा उद्योग कार्यालय, पालिका, उद्योग वाणिज्य सङ्घ, प्रहरीलगायत मिलेर बजार अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख भरत पुरीले व्यापार, व्यवसायमा भएको लापरवाहीको अवस्था हेरेर पाँच हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिराइएको बताए ।
आगामी दिनमा यस्ता लापरवाही नगर्न सचेतसमेत गराइएको पुरीको भनाइ छ । नियमित अनुगमन नहुँदा बजारमा पसलैपिच्छे र ग्राहकलाई हेरेर खाद्यान्न, कपडा तथा अन्य चिजवस्तुको मनपरी मुल्य लिने गरिएको गुनासो बारम्बार आउने गरेको छ ।
अहिले चाडपर्वमा जस्तै नियमित बजार अनुगमन गर्नुपर्ने माग उपभोक्ताले गर्दै आइरहेका छन् ।