logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

चाडपर्वका लागि सडक मर्मत


  • उज्यालो अभियान

लालबन्दी, ०९ असोज – चाडपर्व सुरु भएसँगै सर्लाहीमा पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ ।

चार लेनको बनाउने काम भइरहेको पूर्वपश्चिम राजमार्गको दर्जनौँ स्थानमा खाल्डाखुल्डी परेर सवारी दुर्घटनाको जोखिम बढेको थियो । अहिले दुई लेनको मात्रै रहेको पूर्वपश्चिम राजमार्गमा रहेका खाल्डाखुल्डी सम्झौता बमोजिम चार लेनको सडक बनाउने जिम्मेवारी पाएका निर्माण व्यवसायीले नै धमाधम मर्मत गर्ने काम गरिरहेका हुन् ।

सर्लाहीको पूर्वपश्चिम राजमार्ग यसअघि सडक डिभिजन चन्द्रनिगाहपुर मातहत रहेको थियो । चार लेनको बनाउने गरी ठेक्का लागेसँगै यहाँको हाईवे कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) लाई हस्तान्तरण भइसकेको छ ।

कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर राजकुमार सिंहले दशैँसहित प्रमुख चाडपर्वलाई लक्षित गरी राजमार्ग मर्मतको काम भइरहेको बताए । मन्त्रालयबाटै तत्काल सडकका खाल्डाखुल्डी मर्मत गर्न निर्देशन प्राप्त भए बमोजिम विभिन्न खण्डमा ठेक्का पाएका ठेकेदारले नै सडक मर्मतको काम गरिरहेका इन्जिनियर सिंहले बताए ।

सिंहले उज्यालो अभियानलाई बताए अनुसार निर्माण व्यवसायीले सडकसहित पुलमा बनेका ठुल्ठुला खाल्डाखुल्डीसमेत पुर्ने काम गरिरहेका छन् । चाडपर्वमा सवारी साधनको अत्यधिक चाप हुने भएकाले यात्रा सहजता र सवारी दुर्घटना न्युनिकरण गर्न मर्मतको काम गरिएको इन्जिनियर सिंहले बताए ।

चाडपर्व सुरु भएर कामदार आ–आफ्नो घर गएकाले सडक विस्तारको काम भने तत्काललाई रोकिएको इन्जिनियर सिंहले जानकारी दिएका छन् ।

सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमारलाल कर्णले चार लेनको बनाउन सर्लाही खण्डको हाइवे ठेक्का लागिसकेकाले निर्माण व्यवसायीमार्फत मर्मतको काम भइरहे पनि रौतहट खण्डको ठेक्का लाग्न बाँकी रहेकाले कार्यालय आफैले मर्मतको काम गर्ने बताए ।