logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नारायण खोलामा दशैँमा पनि चल्न सकेनन बस, स्थानीय निराश


  • उज्यालो अभियान

चुरेको दुर्गम क्षेत्रमा पर्ने नारायणखोलामा ट्याक्टरबाट खाद्यान्न ढुवानी गरिँदै । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, ०८ असोज – सर्लाहीको कर्णाली भनिने नारायण खोलामा प्रमुख चाड दशैँमा समेत बस सञ्चालन नहुँदा स्थानीय निराश बनेका छन् ।

सडक सञ्जालमा नजोडिएको लालबन्दी नगरपालिका–१४, मा पर्ने नारायण खोलामा ंंहिउँदका महिनामा लखन्देही र डाइनी खोलाको बगरबाट बस सञ्चालन हुने गरेका छन् । वर्षायाममा बाढी आउँदा भने खोलाबाट कुनै पनि सवारी साधन सञ्चालन हुन सक्दैनन् ।

स्थानीय वासिन्दा, बस व्यवसायी र वडा कार्यालयले खोलाको बाटो मर्मत गरेर गाडी सञ्चालनको प्रयास गरिरहेका छन् । तर चुरेवर्ती क्षेत्रमा बारम्बार पानी परेर खोलामा बाढी आइरहेकाले बाटो बनाउनै नपाएको नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिए ।

खोलाको शीरमा दिनहुँजसो वर्षा भएर बाढी आइरहेकाले यो वर्ष दशैँ सुरु भइसक्दा पनि गाडी सञ्चालनबारे अन्यौलता रहेको वडाध्यक्ष घिसिङको भनाइ छ । बस व्यवसायीसमेत रहेका वडाध्यक्ष घिसिङले तत्काल बाटो मर्मत गर्दा तुरुन्त बाढी आएर बगाउने चिन्ता रहेकाले के गर्ने/नगर्ने भन्ने अन्यौलता रहेको गुनासो गरेका छन् ।

नारायण खोलाका कतिपय स्थानीय बस सञ्चालन नहुँदा दशैँका लागि आवश्यक पर्ने सरसामग्री र दैनिक उपभोग्य वस्तु खरिद गर्न तथा औषधि उपचार गर्न घण्टौँ पैदल हिँडेर लालबन्दी बजार आउन बाध्य भएका छन् । लालबन्दी बजारदेखि लालबन्दी नगरपालिका–१३, पत्थरकोटसम्म सडक पुगे पनि त्यहाँदेखि उत्तर नारायणखोलासम्म खोलाको बगर भएर हिँडनुपर्ने बाध्यता छ ।

नारायण खोलाको माथिल्लो शीर अर्थात् सिन्धुलीको मरिण गाउँपालिकासँग सीमा जोडिएका गाउँबाट पत्थरकोटसम्म पैदल आउँदा ४ घण्टा बढी हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् ।

खोला बगरबाट गाडी सञ्चालन हुँदा नारायण खोलासहित सिन्धुलीको मरिण गाउँपालिकाका स्थानीयसमेत किनमेलका लागि लालबन्दी बजार आउने गरेका छन् ।