logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

यात्रुलाई सहयोग गर्न ७ ठाउँमा सहायता कक्ष


  • उज्यालो अभियान

नवलपुर, ०७ असोज – सर्लाहीका सात स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

दशैँ, तीहार र छठ पर्वलाई लक्षित गरेर ट्राफिक प्रहरी र नेपाल प्रहरीले समन्वय गरी जिल्लाको सात ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका हुन् । पूर्व पश्चिम राजमार्गको लालबन्दी, हरिवन र बागमती, सदरमुकाम मलङ्गवा, पश्चिमी भेगको बरहथवा बजार तथा सीमावर्ती सङ्ग्रामपुर र गडहीयामा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

चाडपर्वको समयमा यात्रुको यात्रा सहजता र आवश्यक सहयोग पु¥याउन यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए । यात्राको क्रममा कुनै प्रकारको असहज वा असुरक्षित महसुस भएमा प्रहरीको हटलाइन नम्बर १०० वा तुरुन्त यात्रु सहायता कक्ष तथा सडकमा डिउटी गरेर बसिरहेका प्रहरीलाई जानकारी गराउन सर्लाही प्रहरीले आग्रह गरेको छ ।

चाडपर्व सुरु भएसँगै प्रहरीले मानिसको भीडभाड हुने स्थान तथा हाटबजारमा गस्तीसमेत बढाएको छ । यो समयमा चोरी, लुटपाट र अन्य अपराधका घटना बढ्ने भएकाले सुरक्षा सतर्कता बढाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।

डिएसपी राईका अनुसार जेनजी आन्दोलनको क्रममा जताततै तोडफोड र आगजनी हुँदा जिल्ला प्रहरी कार्यालय तथा नजिकको इलाका प्रहरी कार्यालयमा लगेर राखिएका स्थायी र अस्याथी प्रहरी चौकीका प्रहरीलाई आ–आफ्नो कार्यालयमा फर्काइएको छ । ‘ख’ बर्गको इलाका प्रहरी कार्यालय कौडेनामा भने प्रहरी फर्कन सकेका छैनन् ।

कौडेनाको प्रहरी कार्यालयमा तोडफोडबाट अत्यधिक क्षति पुगेकाले तत्काल प्रहरी फर्कन सक्ने अवस्था नरहेको डिएसपी राईले बताए । आगजनी र तोडफोड भएका अन्य आधा दर्जन बढी प्रहरी चौकी स्थानीय वासिन्दा, वडा कार्यालय र पालिकाले मर्मत गरिदिएपछि प्रहरी फर्किएका डिएसपी राईले जानकारी दिए ।