लालबन्दी, ०५ असोज – प्रमुख चाड दशैँ नजिकिएसँगै सर्लाहीका बजारमा किनमेल गर्नेको भीड बढ्न थालेको छ ।
दशैँका लागि नयाँ कपडा, मरमसला र खाद्यान्नको व्यापार बढ्न थालेको हो । विशेष गरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा दशैँको किनमेल गर्न आउनेहरु बढ्न थालेका छन् । लालबन्दी बजारमा सर्लाहीसहित छिमेकी जिल्लाबाट समेत सर्वसाधारण किनमेलका लागि आइपुग्ने गरेका छन् ।
लालबन्दीसहित नवलपुर, हरिवन, बागमती, बयलवास, बरहथवालगायतका बजारमा पनि दशैँमा प्रयोग हुने सरसामग्री किन्नेको चहलपहल विस्तारै बाक्लिन थालेको छ । घटस्थापनापछि बजारमा अझ भीडभाड बढ्ने व्यापारीले बताएका छन् ।
अबका केही दिन लालबन्दी, हरिवन र बयलवास बजारमा खसीबोकाको व्यापार पनि उल्लेख्य हुने गरेको छ । जेनजी आन्दोलनपछि जनजीवन सामान्य बनेसँगै हाटबजारमा किनमेल गर्नेको उपस्थिति बढ्न थालेको हो ।
यस्तै दशैँकै लागि सहर, बजारबाट गाउँघर फर्किनेक्रम पनि सुरु भएको हाम्रा संवाददाताले जनाएका छन् । सर्वसाधारणले दशैँका लागि घर, आँगन सरसफाईसहित अन्य तयारीका काम धमाधम गर्न थालेका छन् ।