बागमती, ०४ असोज – पहिरो खसेपछि कर्मैया–हरिहरपुरगढी सडक दुई दिनदेखि अवरुद्ध बनेको छ ।
सर्लाहीको बागमती नगरपालिका–११, मा पर्ने चिप्लेटी भीरमा पहिरो खसेपछि पूर्वपश्चिम राजमार्गस्थित कर्मैयाबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकासम्म पुग्ने सडक अवरुद्ध बनेको हो । बिहीबार रातभर भएको भारी वर्षापछि नुनथरदेखि पूर्वतर्फको पाखामा पहिरो खसेकाले सवारी साधनको आउजाउ ठप्प भएको बागमती नगरपालिका ११ का वडाध्यक्ष प्रदीप आचार्यले जानकारी दिए ।
हरिहरपुरगढीतर्फका स्थानीय वासिन्दाले थोरै भागको पहिरो हटाएपछि मोटरसाइकल सञ्चालन हुन थाले पनि यात्रुबाहक र मालबाहक सवारी साधन सञ्चालन हुन सकेका छैनन् । पहिरो हटाएर सडक खुलाउन आजबाट जेसिबी पठाइएको वडाध्यक्ष आचार्यले बताए ।
हरिहरपुरगढी गाउँपालिकाले जेसिबी खर्च र बागमती नगरपालिकाले इन्धन बेहोर्ने सहमतीमा पहिरो पन्छाउने र खाल्डाखुल्डी परेका ठाउँमा मर्मत गर्ने काम सुरु गरिएको वडाध्यक्ष आचार्यले जानकारी दिएका छन् । यही सडक भएर हरिहरपुरगढी गाउँपालिकाको पश्चिमी भेगका स्थानीय बजार भर्न बागमती आइपुग्ने गरेका छन् ।
सर्लाहीतर्फबाट जानुपर्ने सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाका कर्मचारीले समेत छोटो पर्ने भएकाले कर्मैया–हरिहरपुरगढी सडक नै प्रयोग गर्दै आइरहेका छन् ।