logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

चाडपर्व नजिकिएसँगै गाउँले मिलेर गरे सडक सरसफाई


  • उज्यालो अभियान

परवानीपुर, ०४ असोज – सर्लाहीको लालबन्दी नगरपालिका–१६, मा आज बिहान गाउँले मिलेर सडक सरसफाई गरेका छन् ।

नजिकिँदै गरेको दशैँ, तीहार जस्ता चाडपर्वलाई लक्षित गरी लालबन्दी १६ परवानीपुरबाट लालबन्दी १७ रानिगन्जस्थित पूर्व पश्चिम राजमार्ग निस्कने सडकको दायाँबायाँ रहेका झाँडी, बुट्यान फाँडेर सरसफाई गरिएको हो । लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापासहित अन्य जनप्रतिनिधि, गाउँका अगुवा, विभिन्न सामाजिक संघसंस्थामा रहेका व्यक्ति, महिला, युवा क्लबका सदस्य, डिम जनता माविका एन सि सि टिमलगायत भएर सरसफाई गरिएको मिरमिरे युवा क्लबका अध्यक्ष सुमन तामाङ (सोनाम) ले जानकारी दिए ।

हरेक वर्ष चाडपर्वको समयमा गाउँले मिलेर यो सडक सरसफाई गर्दै आएका छन् । हिजो मात्रै लालबन्दी नगरपालिका ४ हरिभवन नयाँटोलका युवाले पनि यसैगरी गाउँको सडक सरसफाई गरेका थिए ।

युवा पुस्ता बिदेश पलायन र मानिसको जीवनशैली फेरिएसँगै गाउँघरमा पछिल्लो समय यस्ता सामाजिक कार्य निकै कम मात्रामा हुने गरेका छन् ।