नवलपुर, ०३ असोज – सर्लाहीमा आज जिल्लाभर ४ घण्टा बिजुली अवरुद्ध हुने भएको छ ।
नवलपुरस्थित सवस्टेशनमा ६३ एमभिए ट्रान्सफर्मरमा एच भि साइडको सर्किट ब्रेकर कन्ट्रोल वाइरिङ गर्न जिल्लाभर लाइन सट–डाउन गर्न लागिएको हो । ढल्केबर ग्रिड महाशाखाले हिजो नै सूचना जारी आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्लाभरको बिजुली काटिने जनाएको छ ।
उक्त सूचना अनुसार लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्र अन्तर्गतको सबै क्षेत्रमा आज ४ घण्टा बिजुली अवरुद्ध हुने ढल्केबर ग्रिड महाशाखा प्रमुख इन्जिनियर सूर्यनारायण मण्डलले जानकारी दिए । नवलपुर सवस्टेशनमा यसअघि पनि मर्मत सम्भारका लागि घण्टौँ बिजुली अवरुद्ध गरेर काम हुने गरेको थियो । तर प्राधिकरणले सूचना निकालेर जानकारी गराएको भन्दा बढी समय बिजुली कटौति हुने गरेको गुनासो ग्राहकले गर्दै आइरहेका छन् ।
विद्युत प्राधिकरणले प्रायः सार्वजनिक बिदाको दिन पारेर यस प्रकारको मर्मत सम्भारको काम गर्दै आइरहेको छ ।