logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आगजनीले वडा कार्यालय रहेनन्, व्यक्तिगत घटना दर्ता ठप्प


  • उज्यालो अभियान

लालबन्दी, ०३ असोज – आगजनीबाट तहसनहस भएका सर्लाहीका विभिन्न पालिकाका वडा कार्यालयहरुलाई सेवा सुचारु गर्न कठीन भएको छ ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रदर्शनकारीले आगजनी गर्दा जिल्लाका एक दर्जन बढी वडा कार्यालयमा पूर्ण क्षति पुगेका थिए । ति मध्ये केही वडा कार्यालयले आंशिक सेवा सुचारु गरेका छन् ।
आगजनीमा कम्प्युटरसहितका विद्युतीय उपकरण जलेकाले पछिल्लो समय अनलाइनबाट प्रदान गरिने नैसर्गिक अधिकारभित्र पर्ने जन्मदर्ता, मृत्युदर्तासहितका व्यक्तिगत घटना दर्ताको सेवासमेत ठप्प हुन पुगेको छ । जनप्रतिनिधि र कर्मचारीहरु के–कसरी सेवा सुचारु गर्ने भन्ने अन्यौलमै रहेका छन् ।

नागरिकसँग प्रत्येक्ष जोडिएको वडा कार्यालयको सेवा रोकिँदा सयौं सेवाग्राही मारमा परेका छन् । सर्लाहीमा बरहथवा नगरपालिकाको कार्यालय परिसरभित्रै रहेको वडा नं. ५, ६ र ७ ले अझै सेवा प्रारम्भ गर्न सकेका छैनन् ।

बरहथवाका यि तीन वटै वडा कार्यालयमा भदौ २४ गतेदेखि व्यक्तिगत घटना दर्तासहितका सेवा ठप्प रहेको छ । नगरपालिका कार्यालयसमेत आगजनी गरी ध्वस्त पारिएकाले सेवाग्राहीलाई अत्यावश्यक केही सेवाबाहेक अधिकांश सेवा दिन नसकिएको नगरपालिकाका कानूनी सल्लाहकार महेश बरालले जानकारी दिए ।

आगजनीले सबै खरानी भएकाले तत्कालै पूर्णरुपमा सेवा दिन सक्ने अवस्था नै नरहेको बरालको भनाइ छ । “खै केही नै त बाँकी छैन् यो अवस्थामा कसरी सेवा दिनु र ! हामी नै अलमलमा छौँ,” बरालले भने, “कर्मचारी भएपछि कार्यालय त आउनै प¥र्यो तर दिनभर त्यसै बस्नु परिरहेको छ ।”

यस्तै आगजनीपछि आधा दर्जन बढी वडा कार्यालयमा क्षति पुगेको लालबन्दी नगरपालिकामा वैकल्पिक व्यवस्था गरी क्रमशः वडा कार्यालयहरुको सेवा सुचारु हुन थालेका छन् । लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले वडा कार्यालय ध्वस्त भएपछि तत्कालका लागि वडा नं. ६ स्थित पुरानो नगरपालिका कार्यालयको भवनबाट आंशिक सेवा सुरु गरिएको बताए ।

नगरपालिकाको सेवासमेत ठप्प रहेकाले लालबन्दी नगरपालिकाका कर्मचारी आफै केही दिनदेखि कार्यालयको सरसफाईमा जुटिरहेका छन् । त्यस्तै हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाले नगरपालिकाबाट एक थान ल्यापटप प्रदान भएकाले अब बल्ल आगजनी भएको वडा कार्यालयलाई सरसफाई गरी व्यक्तिगत घटना दर्तासहितका सेवा सुरु गर्ने तयारीमा जुटेको बताए ।

आगजनीबाट पूर्ण क्षति पुगेका हरिपुर ७ र ८ को वडा कार्यालयको सेवा भने तत्कालका लागि हरिपुर नगरपालिका २ मा पर्ने नगरपालिका कार्यालयबाटै प्रदान हुने भएको छ । यसैगरी हरिवन नगरपालिका ८ का वडाध्यक्ष प्रज्वल ढुङ्गानाले आगजनीबाट पूर्ण क्षति भएको वडा कार्यालय सरसफाई गरी नागरिकता सिफारिस, चारकिल्लासहितका आंशिक सेवा प्रवाह गर्न सुरु गरिएको बताएका छन् ।

वडाध्यक्ष ढुङ्गानाले जेनजीको नाममा अराजक व्यक्तिहरु घुसपैठ गरेर वडा कार्यालयको सबै प्रमाण नष्ट गर्ने कार्यमा संलग्न भएको बताएका छन् । “यो विरुद्ध राजनीतिक प्रतिसोध साध्ने हिसाबले घुसपैठ गरी आगजनी भएको हो,” वडाध्यक्ष ढुङ्गानाले भने, “अनाहकमा वडा कार्यालय जलाइदिँदा यहीँका नागरिकले सास्ती पाउने अवस्था बनेको छ ।”

कम्प्युटरको व्यवस्थापन भइरहेकाले अब आइतबारदेखि मात्रै अनलाइन सञ्चालन गरी व्यक्तिगत घटना दर्तासहितका सेवा प्रवाह गर्न प्रयास गरिने वडाध्यक्ष ढुङ्गानाको भनाइ छ । त्यसैगरी बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्ण लामाले नगरपालिकाको कार्यालय तहसनहस पारिए पनि सबै वडा कार्यालयहरु सध्य रहेकाले वडाको सेवा नियमित प्रवाह भइरहेको बताए ।

नगरपालिकाको आंशिक सेवा तत्कालका लागि वडा नं. ११ र १२ को वडा कार्यालय रहेको भवनबाट प्रवाह गर्न सुरु गरिएको कार्यवाहक नगरप्रमुख लामाको भनाइ छ ।