logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सक्रिय हुन खोज्दै सर्लाहीका राजनीतिक दल


  • उज्यालो अभियान

मलंगवा, ०२ असोज – जेनजी आन्दोलनपछि सर्लाहीमा राजनीतिक दलहरु पुनः सक्रिय हुने प्रयासमा लागेका छन् ।

तनावग्रस्त अवस्थापछि जिल्लामा राजनीतिक दलहरुले आफ्नो गतिविधि फेरि बढाउने प्रयास गरेका हुन् । सोही क्रममा संविधान दिवसको अवसरमा नेपाली कांग्रेस सर्लाहीले भोली संविधान रक्षार्थ र्याली निकाल्ने तयारी गरेको छ ।

क्षेत्र नं. १ को बयलवास बजारमा भोली कार्यक्रम गर्न लागिएको कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले जानकारी दिए । कांग्रेसले जिल्लाका अन्य स्थानमा पनि भोली संविधान दिवसको अवसरमा कार्यक्रम गर्ने तयारी गरेको नेताहरुले बताएका छन् ।

यस्तै नेकपा एमाले सर्लाहीले पनि भोली हरिवन नगरपालिका ८ स्थित नारायण उप्रेती स्मृति भवनमा १० औँ संविधान दिवस मनाउने भएको छ । एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जिल्लाभरबाट अगुवा, नेता कार्यकर्ता सहभागी भएर संविधान दिवस मनाउने तयारी गरिएको बताए ।

प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्रले पनि सर्लाहीमा विस्तारै गतिविधी बढाउँदै लान थालेको छ । हिजो मात्रै पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेसहितका नेताहरुले सदरमुकाम मलंगवामा अगुवा, नेता कार्यकर्तासँग भेट गरेका थिए ।

राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो केही दिनदेखि जिल्लामै बसेर कार्यकर्ताहरुसँग भेट गरिरहेका छन् । जसपा नेपाल, जसपालगायतका राजनीतिक दलले पनि विस्तारै कार्यकर्तासँगको भेटघाट बढाउन थालेका छन् ।

जेनजी आन्दोलनको कार्यक्रममा सदरमुकाम मलंगवामा रहेको नेपाली कांग्रेस र एमालेको जिल्ला पार्टी कार्यालयसहित लालबन्दी, ईश्वरपुरलगायतका स्थानका पार्टी कार्यालयहरुमा आगजनी भएका थिए ।