logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा आज पनि सिमसिमे वर्षा


  • उज्यालो अभियान

लालबन्दी, ३० भदौ – सर्लाहीमा आज पनि बिहानैबाट सिमसिमे पानी पर्ने र रोकिनेक्रम चलिरहेको छ ।

यहाँ हिजो पनि बिहानभरको मौसम यस्तै भएको थियो । भदौ अन्तिमतिर आएर मौसम बदली भई जमिन भिज्ने गरी पानी पर्दा धान, मकै, उखु, कोदोलगायत बाली लगाएका किसान खुसी देखिन्छन् ।

पानी परिरहेर गोलभेँडाको बेर्ना सार्न भने समस्या परेको उत्तरी भेगका किसानको गुनासो छ । यसअघि नजिकै एक ठाउँमा मात्रै पार्ने पर्ने अर्थात् खण्डवृष्टि हुने गरेकोमा यो पटक लगभग जिल्लाको सबैजसो भागमा सानो ठुलो पानी परेको स्थानीयले बताएका छन् ।

पानी परेकाले यहाँ केही दिनदेखि तापक्रम घटेर शित्तल भइरहँदा सर्वसाधारणले गर्मीबाट राहत पाइरहेका छन् । अहिलेको वर्षाले ‘वार्टर रिचार्ज’ हुन पाएकाले हिउँदमा खानेपानीको समस्या टार्न केही हदसम्म योगदान पुग्ने विज्ञको भनाइ छ ।

दशैँ नजिकिरहेको बेला झरी परेर खोलाको बाटोमा गाडी चल्न थप समस्या परेपछि सर्लाहीको चुरेवर्ती क्षेत्रका स्थानीय भने निराश बनेका छन् । सडक नपुगेको सर्लाहीको चुरेभेगका नारायणखोला, शीर कालिन्जोर, पिपलदमार, भित्रीखोला लगायत क्षेत्रमा दशैँ अगाडि पानी पर्न रोकिए खोलाबाट बस संचालन गर्ने तयारी छ ।

यसैबिच, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थान (भारत) आसपास अवस्थित रहेको छ । तर अरब सागर तथा बंगालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेकाले देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहने छ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।