logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

जिल्ला र इलाका प्रशासन कार्यालयको सम्पूर्ण सेवा सुचारु


  • उज्यालो अभियान

हरिवन, ३० भदौ – सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले आजदेखि सम्पूर्ण सेवा सुचारु गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट यसअघि कै झैँ सम्पूर्ण सेवा सुचारु भएको उज्यालो अभियानसँग बताए ।

तीन दिनअघि देखि नै आंशिक सेवा सुरु गरेको जिल्ला प्रशासन कार्यालयले आजदेखि नयाँ नागरिकता र प्रतिलिपी नागरिकता जारी गर्नेदेखि राष्ट्रिय परिचयपत्रको कामसमेत पूर्ववत् अवस्थाको झैँ सुचारु गरेको सिडिओ श्रेष्ठले जानकारी दिए ।

इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापाले हिजोसम्म ‘सर्भर’ मा समस्या आउँदा सबै काम गर्न नपाएको भए पनि आज बिहानबाट समस्या हटेसँगै आन्दोलन अघिको झैँ सेवा दिन सुरु गरिएको उज्यालो अभियानसँग बताएका छन् । जेनजी आन्दोलनमा क्षति नभएका सङ्घ तथा प्रदेश सरकार मातहतका र स्थानीय तहका कार्यालयहरु पनि सञ्चालनमा आइसकेका छन् ।

पूर्णरुपमा क्षतिग्रस्त भएका लालबन्दी, हरिवन, बागमती, हरिपुर, ईश्वरपुर र बरहथवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाले भने आवश्यक उपकरण र कागजातको प्रवन्ध गरी पाल टाँगेरै भए पनि सेवा प्रवाह गर्ने तयारी गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाभर भएका क्षतिको विवरण सङ्कलन गर्न टोली परिचालन भएको र त्यसको समन्वयका लागि जिल्ला प्रशासन कार्यालयले समेत बेग्लै समिति बनाएर काम गरिरहेको बताए ।