logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दी नगरपालिकाको अवस्था यस्तो छ (तस्बिरहरु)


  • उज्यालो अभियान

लालबन्दी, २९ भदौ – जेनजी पुस्ताको आन्दोलनको क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट खण्डहर बनेको लालबन्दी नगरपालिकाको कामकाज तत्काल सुरु नहुने भएको छ ।

लालबन्दी नगरपालिका वडा नं. ८ स्थित ज्येष्ठ नागरिक भवनमा २०७८ सालदेखि नगरपालिका कार्यालय सञ्चालन हुँदै आएको थियो । आगजनी र तोडफोडबाट उक्त कार्यालय भवन, जनप्रतिनिधि चढ्ने सवारी साधन, कार्यालयका कागजात र सम्पूर्ण उपकरण ध्वस्त भएका छन् ।

आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण आइतबारदेखि सङ्कलन गर्न सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय लालबन्दीले नगरपालिका कार्यालयमा भएको क्षतिको मुचुल्का उठाउन सुरु गरेको हो ।

प्रदर्शनकारीले गरेको आगजनीबाट नगरप्रमुखले चढ्ने प्राडो, उपप्रमुखले चढ्ने टाटासुमो र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीसहित एउटा जेसिबी, एउटा डोजर, एउटा ट्रक र एउटा ट्याक्टर कवाडमा परिणत भएका छन् । कार्यालय भित्रका फर्निचर, कम्प्युटर र कागजातसमेत खरानी भएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले कार्यालय खण्डहरमा परिणत भएकाले तत्काल सेवा संचालन गर्न सक्ने अवस्था नरहेको बताए । “तोडफोड र आगजनीले न कर्मचारी बस्ने ठाउँ छ न त काम गर्ने उपकरण नै छन्,“ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले उज्यालो अभियानसँग भने “आगजनी र तोडफोडका कारण कार्यालयभित्र पस्न सक्ने अवस्था धरी छैन् ।”

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार कार्यालयमा रहेका कुनै पनि सरसामग्री सध्य छैनन् । तोडफोडका कारण सिसासहित अन्य सरसामग्रीका टुक्राका कारण कार्यालय भित्र पस्न सक्ने अवस्थासमेत नरहेको कर्मचारीले बताएका छन् ।

प्रदर्शनकारीले लालबन्दी नगरपालिकाको वडा नं. ५, ६, ७ र ९ को वडा कार्यालयमा पनि आगजनी र तोडफोड गरेर क्षति पुर्‍याएका नगरपालिका कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीले नगरपालिका कार्यालयमा क्षतिको विवरण लिएपछि क्रमैसँग अन्यत्रको मुचुल्का उठाइने बताए । प्रदर्शनकारीले लालबन्दी ७ स्थित डुमडुमे मन्दिर अगाडिको व्यावसायिक भवनमा तोडफोड र लालबन्दी ७ मै रहेको करदाता सेवा कार्यालयको दुईवटा मोटरसाइकलसमेत आगजनी गरेर जलाएका छन् ।

 

तस्बिरहरु : जनार्जन खत्री