मलंगवा, २६ भदौ – सर्लाहीमा जारी कर्फ्यू आदेशलाई क्रमवद्ध रुपमा खुकुलो बनाउँदै लैजाने निर्णय गरिएको छ ।
आज दिउँसो सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा परिस्थितिको आधारमा नागरिकको जनधनको सुरक्षाका लागि हिजोदेखि जिल्लाभर जारी गरिएको कर्फ्यू आदेशलाई खुकुलो पार्दै लैजाने निर्णय गरेको हो । बैठकले सदरमुकाम मलंगवामा भने भोली शुक्रबार राति ८ बजेसम्म नै पूर्वमा झिम नदी, पश्चिममा बागमती नहर, उत्तरमा सशस्त्र प्रहरीको गण र दक्षिणमा नेपाल–भारत सीमाभित्र कर्फ्यूलाई निरन्तरता दिने निर्णय गरेको छ ।
सदरमुकाम मलंगवाबाहेक अन्य ठाउँमा भोली शुक्रबार बिहान ५ बजेदेखि अर्को आदेश नहुँदासम्म कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले उज्यालो अभियानसँग बताए । सिडिओ श्रेष्ठका अनुसार अत्यावश्यक कार्यका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ः३० बजेसम्म आवतजावत खुला गर्ने निर्णय गरिएको छ ।
‘जेनजी’ पुस्ताको प्रदर्शन रोकिएसँगै हिजोदेखि नै जिल्लाको अवस्था सामान्य उन्मुख छ । तर बजार र यातायात सञ्चालनमा नआउँदा भने स्थानीयलाई समस्या परेको छ । मोटरसाइकल र टेम्पु संचालन भइरहे पनि भाडाका गाडी संचालन हुन सकेका छैनन् ।
बजारमा फाट्टफुट्ट मात्रामा पसल खुलेका छन् । बैंक तथा वित्तीय संस्थासमेत बन्द रहँदा सेवाग्राहीलाई मार परेको छ ।
आगलागीबाट ठूलो क्षति बेहोरेका यहाँका लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, हरिपुरलगायत पालिका र वडा कार्यालयले तत्काल सेवा संचालन हुन नसक्ने सूचना जारी गरेका छन् । आगलागीबाट पालिकाको भवन, सवारी साधन र उपकरण नष्ट भएकाले के–कसरी सेवा सूचारु गर्ने भन्ने अन्यौल रहेको जनप्रतिनिधिले बताएका छन् ।
जिल्लामा कर्फ्यू आदेश जारी नै रहेकाले आगलागी तथा तोडफोड नभएका सरकारी कार्यालय तथा निकाय पनि संचालनबारे अन्यौलता नै रहेको छ । जिल्लाका सुरक्षा निकाय तत्काल सुरक्षा प्रवन्ध मिलाउनमा नै ब्यस्त रहेका छन् ।
यहाँको सडक, बजारमा नेपाली सेना तैनाथ भएर सुरक्षा प्रदान गरिरहेका छन् ।