हरिवन, १९ भदौ – सर्लाहीको हरिवन नगरपालिकाले हरिवन मिना बजारका टहरा भत्काइदिएको छ ।
हरिवन बजारभित्र रहेको मिना बजारमा बाटो अवरुद्ध हुने गरी पसल अगाडि बनाइएका टहरा अवैध रहेको भन्दै नगरपालिकाले भत्काइदिएको हो । नगरपालिकाले भाडामा लगाएको १९ वटा सर्टर अगाडि व्यापारीले आठ÷दस फिट अगाडिसम्म टहरा अर्थात् पाली हालेर व्यापार गर्दै आइरहेका थिए ।
सर्टरभरी समान राखेर बाहिर सडकमा टहर निर्माण गरी व्यापार गर्दा आवतजावत गर्नै समस्या परेपछि त्यस्ता संरचना भत्काइएको नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिए । एक वर्षअघि देखि नै ति संरचना भत्काइदिन नगरपालिकाले बारम्बार व्यापारीलाई सूचना प्रवाह गर्दै आइरहेको भएपनि बेवास्ता गरिएकाले बाध्य भएर डोजर प्रयोग गर्नुपरेको मेयर बुढाथोकीको भनाइ छ ।
व्यापारीले अटेरी गरेपछि बिहान झिसमिसेमै डोजरसहित नगर प्रहरी परिचालन गरेर संरचना भत्काउने काम गरिएको हो । मिना बजार व्यापारी समितिले भदौ १५ गते नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै छठसम्म टहरा रहन दिन माग गरेका थिए ।
नगरपालिकाले टहरा भत्काइदिएपछि व्यापारीले आजबाट आ–आफ्नो सर्टरमा बसेर व्यापार गर्न सुरु गरेका छन् । सुतेकै बेला गुण्डागर्दी शैलीमा पाली भत्काउने काम भएको मिना बजारका व्यापारीले आरोप लगाएका छन् ।
पसल अगाडिको पाली भत्काइदिएपछि दिनभर चर्को घाम लाग्दा सेवाग्राहीलाई उभ्भिने ठाउँ समेत रहेको व्यापारीले बताएका छन् ।