logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पानी नपर्दा सिँचाईका लागि मोटरको भर


  • उज्यालो अभियान

हरिपुर, १७ भदौ – सर्लाहीका किसान धान बालीमा सिँचाईका लागि विद्युतीय मोटरको भर पर्न बाध्य भएका छन् ।

यो वर्ष किसानले धान रोपाइँका लागि पानीको अभाव झेल्नु परेको थियो । जसोतसो धान रोपाइँ गरेका किसानले अहिले पुनः आकाशे वर्षा हुन छाडेपछि विद्युतीय मोटर चलाएर धान बाली सुक्नबाट जोगाइरहेका छन् । धान खेती हुने प्रत्येक फाँटका किसानले रात दिन नभनी विद्युतीय मोटर चलाएर धानमा पानी पटाइरहेको देखिन्छ ।

हरिपुर नगरपालिका–७, चिताइनका जयनारायण चौधरीले आकाशे वर्षा नहुँदा धानमा दिनैपिच्छेजसो पानी लगाउनुपरेको जानकारी दिए । साउन मध्यतिर केही दिन आकाशे वर्षा भएपछि किसानलाई राहत मिलेको थियो । त्यसपछि भने पुनः वर्षा हुन छाडेसँगै सिँचाईको समस्या परेको हो ।

वर्षा नभएकाले यहाँको अधिकांश खोला सुकेका छन् । विद्युत कटौति भएर सूचारु भएपछि पुनः मोटर संचालन गर्नुपर्ने भएकाले धान खेतमा सिँचाई नहुञ्जेलसम्म किसान खेतमै जाग्राम बस्ने गरेका छन् । बागमती सिँचाई आयोजनाबाट पर्याप्त पानी वितरण नहुँदा तल्लो भेगको नहरसम्म पर्याप्त पानी पुग्न सकेको छैन् ।

आकाशे वर्षा नभए पनि मोटर चलाएर पानी आउने ठाउँका किसानले सिँचाई गरिरहे पनि भूमिगत पानी नआउने ठाउँका किसान भने समस्यामा परेका छन् । सुक्खाक्षेत्रमा पर्ने सर्लाहीको पूर्वपश्चिम राजमार्गदेखि उत्तरतर्फ पूर्णरुपमा आकाशे वर्षाको भर रहेको छ ।

पानी नपरेर सुक्खा बढ्दा विद्युतीय मोटरको प्रयोग बढेर नेपाल विद्युत प्राधिकरणलाई पुनः भार व्यवस्थापन गर्न समस्या पर्न थालेको छ । नेपाल विद्युत प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेश यादवले सिँचाईका लागि अत्यधिक मात्रामा विद्युत खपत हुन थालेसँगै लोड थेग्न हम्मेहम्मे पर्न थालेको बताएका छन् ।