मलंगवा, १७ भदौ – सर्लाहीको गोडैतामा इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै हिजो सदरमुकाम मलङ्गवामा प्रदर्शन गरिएको छ ।
गोडैता नगरपालिका, धनकौल गाउँपालिका र विष्णु गाउँपालिकाका स्थानीयले बलराको साटो गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने माग गर्दै सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिएको प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । स्थानीयले आफूहरुको मागको सम्वन्धमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
गोडैतामा इलाका प्रशासन कार्यालय हुनुपर्ने माग गर्दै यसअघि आइतबार मात्रै गृहमन्त्री रमेश लेखकलाई भेटेरै ध्यानाकर्षण पत्र बुझाइएको छ । गृहमन्त्री लेखक वीरगन्ज आएको अवसरमा बलरा भन्दा पनि गोडैतामा अति पायक पर्ने भएकाले गोडैतामै कार्यालय स्थापना गर्न माग गर्दै सर्वपक्षीय ध्यानाकर्षण पत्र बुझाइएको हो ।
मन्त्रिपरिषद्को भदौ ९ गते बसेको बैठकले गोडैता नगरपालिका, विष्णु गाउँपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका र धनकौल गाउँपालिकाका लागि बलरामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा सो निर्णय पाँचवटै पालिकाको जनताको सेवा सुविधा र सुरक्षाको हिसाबले अनुपयुक्त रहेको सर्वपक्षीय ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
भारतको बोर्डर छेउमा रहेकाले सुरक्षाको हिसाबले पनि संवेदनशील रहेकाले पाँचवटै पालिकाको बिच भागमा पर्ने गोडैता नगरपालिका ७ मा इलाका प्रशासन कार्यालय स्थापना गरिदिन गृहमन्त्रीसँग माग गरिएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने यस क्षेत्रका स्थानीय अहिले प्रशासनिक सेवा लिन सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा आउन बाध्य छन् ।
यसैबिच बलरा नगरपालिकाका मेयर रामाशंकरप्रसाद कुशावाहले सामाजिक सन्जाल फेसबुकमा लामो स्टाटस हाल्दै बलरा भन्ने बित्तिकै साबिकको बलरा मात्रै नभई अहिलेको ११ वडामध्ये छेउछाउका अन्य पालिकालाई समेत पायक पर्ने गरी जुनसुकै वडामा इलाका प्रशासन कार्यालय राख्न सकिने उल्लेख गरेका छन् ।