logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

करेन्ट लागेर घाइते मगरको मृत्यु


  • उज्यालो अभियान

बागमती, १७ भदौ – सर्लाहीको बागमतीमा एक सातादेखि करेन्ट लागेर शक्त घाइते हुनुभएका वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

भदौ ११ गते बिहान करेन्ट लागेर घाइते बागमती नगरपालिका–१, मिलन चोक गुम्बा टोलका ६८ वर्षीय छलबहादुर राना मगरको बर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मगरलाई घर नजिक सामुदायिक भवनमा तीजका लागि नाचगान गर्न छतमा लगेर जडान गरिएको माइक निकाल्न जाँदा हाइटेन्सन लाइनमा छोइँदा करेन्ट लागेको थियो ।

यहाँ उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टर ल्याएर कीर्तिपुर लगिएको थियो । उपचारका क्रममा मृत्यु भएका रंगकर्मीसमेत रहेका मगरको पार्थिव शरीर हिजो बागमती नदीमा ल्याएर अन्त्येष्टि गरिएको नेपाल मगर संघ सर्लाहीका पूर्व अध्यक्ष तेजनारायण आले मगरले जानकारी दिए ।

दिवंगत मगर पूर्व नेपाली सेनासमेत रहेकाले सेनाले बागमती नदीमै पुगेर सलामी अर्पण गरेको छ ।