logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

उच्च अदालतको आदेशपछि बसबरियाको गाउँसभा स्थगित


  • उज्यालो अभियान

बसबरिया, १६ भदौ – उच्च अदालत जनकपुरको आदेशपछि सर्लाहीको बसबरिया गाउँपालिकाको बजेट पारित गर्न आज बोलाइएको गाउँसभा स्थगित भएको छ ।

गाउँ सभाको बन्द सत्रबाट निर्णय गरेर आज बजेट पारित गर्ने तयारी थियो । गाउँपालिका उपाध्यक्ष सरिता कुमारीले दायर गरेको निवेदनमा उत्प्रेषणको आदेश गर्दै उच्च अदालत जनकपुरले गाउँसभा स्थगन गर्न भनेको छ ।

अदालतले यस विषयमा भदौ १९ गतेलाई पेशी तोक्दै दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ । स्थानीय सरकार संचालन ऐन अनुसार असारमै पारित गर्नुपर्ने नीति तथा कार्यक्रम र बजेट बसबरिया गाउँपालिकामा भने नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिना बितिसक्दा पनि अझै पारित हुन सकेको छैन् ।

गाउँपालिका अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता कुमारीबिचको टकराबका कारण गाउँसभा नहुँदा गाउँपालिकाको आर्थिक कारोबार ठप्प हुन पुगेको छ । शिक्षक, कर्मचारीले तलब पाउन सकेका छैनन् । सामाजिक सुरक्षा भत्ता रोकिन पुगेको छ ।

तत्काल गाउँसभा हुने अवस्था नदेखिएकाले नजिकिँदो चाडपर्वमा कर्मचारीले तलब सुविधा नपाउने अवस्था सिर्जना हुन थालेको छ । गाउँपालिका अध्यक्ष रामसिंहासन रायले उपाध्यक्षसमेतको सहमतीमा आज बजेट पारित गर्ने हिसाबले गाउँसभाको बैठक बोलाइएकोमा फेरि उपाध्यक्ष आफै गएर मुद्दा दायर गरेर दोहोर चरित्र देखाएको आरोप लगाएका छन् । केही सांसद र नेताको उक्साहटमा परेर उपाध्यक्षले सिङ्गो गाउँपालिकालाई बर्बादीमा पारेको अध्यक्ष रायको गुनासो रहेको छ ।

उपाध्यक्ष सरिता कुमारीले भने बजेट बाँडफाँडको विषयमा गाउँपालिका अध्यक्षले आफूसँग सरसल्लाह नै नगरेको दुःखेसो गर्दै आएकी छन् ।

जनप्रतिनिधिबिचको टकराबले गाउँपालिकामा विकास निर्माणका काम प्रभावित हुनुका साथै कर्मचारीको तलब र वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । बसबरियामा यसअघि पनि पटकपटक गाउँसभाको बैठकको मिति तोकिए पनि बैठक बस्न सकेको थिएन् ।

सर्लाहीमा यसअघि हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा बजेट पारित गर्ने विषयमा यसैगरी विवाद हुने गरेकोमा यो वर्ष यि दुवै पालिकामा विवादरहित ढङ्गले बेलैमा बजेट पारित भएको छ ।